Logo

कनक मन्दिर ज्वेलर्स लुटपाटमा संलग्न समीर खड्का, कलक सिंह ठकुरी, लुटपाटमा मुख्य योजनाकार अभिषेक आचार्य र शिव खत्री

१२ जेठ, वीरगञ्ज । भारतको विहार राज्य सिवान जिल्लाको एक घर र ज्वेलरी पसलमा भएको लुटपाटमा संलग्न कैलालीका एक युवक इलका प्रहरी कार्यालय अत्तरीयामा रहेको प्रहरीले जनाएको छ । घरेलु कामदारको रुपमा रहेका २ नेपाली मध्ये लुटपाटमा संलग्न एक समीर खड्का प्रहरी हिरासतमा फेला परेका हुन ।

सिवान नगर थाना क्षेत्र, शान्तिवट वृक्ष स्थित कनक मन्दिर ज्वेलर्समा ४ मार्च अर्थात २०८० फागुन २१ गते राती घर परिवारका सदस्यहरुलाई खानामा नशालु पदार्थ दिएर बेहोस गराई लुटपाट भएको थियो । कैलालीको धनगढी घर बताउने २ जना युवाले २० लाख भारतीय रुपियाँ नगद, काँचो सुन, डायमण्ड र तयारी गहना गरी ७ किलो सुन लुटेर नेपाल भागेका थिए ।

कैलाली जिल्ला गौरीगंगा नगरपालिका घर भएका समीर खड्कालाई इलका प्रहरी कार्यालय अत्तरीयाले लागु औषध कारोवारमा गत बैशाख २७ गते पक्राउ गरेको हो । उनी भारतको विभिन्न शहरमा भएको लुटपाटका घटनामा संलग्न रहेको भारतीय प्रहरीले जनाएको छ ।

सीवान क्षेत्रका प्रसिद्ध सुन व्यवसायी कनक मन्दिर ज्वेलर्सका मालिक बच्चा सोनी, उनकी श्रीमति, छोरा प्रशान्त सहित ४ जनालाई बेलुका दिएको खानामा नशालु पदार्थ राखिएकोले उनीहरु खाना खाए लगत्तै बेहोस भएका थिए । घरमा भएका सवै अचेत अवस्थामा पुगेपछि घरेलु कामदारको रुमपा रहेका सुरज भन्ने समीर खड्का र कृष्ण भन्ने कलक सिंह ठकुरीले घरमा रहेका नगद र पसलमा भएको सुन समेत लिएर रातीनै गायव भएका थिए ।

कनक मन्दिर ज्वेलर्सका संचालक प्रशान्त सोनीका अनुसार घरमा रहेका गहना, पसलको सुन र नगद समेत ७ करोड भारतीय रुपियाँ बराबरको लुटपाट भएको छ । आफ्नो बास्तविक परिचय लुकाएर सीवान पुगेका उनीहरुलाई दिल्ली स्थित लेबर सप्लायर्स एजेन्ंसी एस.के मेड कम्पनीले घरेलु कामदारको रुपमा त्यहाँ पठाएको थियो ।

एसके मेड कम्पनीका संचालक थिए कैलाली गौरीगंगा नगरपालिकाका शिव खत्री । उनै खत्रीले समीर खड्कालाई गएको जनवरीको पहिलो हप्ता र कनक सिंह ठकुरीलाई जनवरीको दोश्रो हप्तामा बच्चा सोनीको घरमा घरेलु कामदारको रुपमा पठाएका थिए । खड्का र ठकुरी त्यहाँ जानु अघि अभिषेक आचार्य र सुनीता खत्री घरेलु कामदारको रुपमा रहेका थिए । यी चारै जनालाई खत्रीले नै त्यहाँ पठाएका हुन ।

अभिषेक आचार्य गएको डिसेम्बर ३० तारिखमा नेपाल फर्किएका थिए । उनले विदेशमा जान भिसा लागेकोले घर जाने भन्दै त्यहाँबाट हिडेका थिए । अभिषेक र सुनीता खत्रीले बच्चा सोनीको घर भित्र र पसलको बस्तुस्थिती खड्का र ठकुरीलाई जानकारी दिएका थिए । भारतीय प्रहरीका अनुसार शिव खत्रीको योजनामा समीर खड्का र कनक सिंह ठकुरीले लुटपाट गरेका हुन ।

दिल्लीमा घरेलु कामदार सप्लाई गर्ने कार्यालय (एसके मेड अफिस) संचालनगरी वसेका शिव खत्री घटना हुनुभन्दा एक हप्ता अघिनै कार्यालय बन्द गरेर नेपाल भागेको भारतीय प्रहरीले जनाएको छ । उनी कैलालीको धनगढी स्थित फूलवारीमा बस्दै आएका छन् । तीनै शिव खत्रीको योजनामा बच्चा सोनीको घर र पसलमा लुटपाट भएको भारतीय प्रहरीको बुझाई छ ।

बच्चा सोनीको उपचारको क्रममा मृत्यु

घरमा काम गर्ने एकजना ज्योति नाम गरेकी महिला मार्च ५ तारिख विहान ९ बजे घरमा प्रवेश गर्ने वित्तिकै साहुँ लगायत परिवारका अन्य सदस्यहरु अचेत अवस्थामा बेडमा सुतेको देखेपछि उनले आफन्तलाई खवर गरेकी थिइन् ।

बेहोस आवस्थामा कनक मन्दिर ज्वेलर्सका संचालक बच्चा सोनीका परिवार

बेहोस अवस्थामा रहेका बच्चा सोनी, उनकी श्रीमती र अन्य सदस्यलाई अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । बेहोस अवस्थामा रहेका कनक मन्दिर ज्वेलर्सका संचालक सीवानका प्रसिद्ध गहना व्यवसायी बच्चा सोनीको उपचारको क्रममा मृत्यु भयो । अन्य ३ जना भने उपचारपछि घर फर्किएका छन् ।

अस्पताल स्रोतका अनुसार बच्चा सोनीको बिषाक्त नशालु पदार्थ सेवनका कारण मृत्यु भएको हो । एक जनाका ज्यान जानेगरी भएको लुटपाटमा नेपाली कामदारको संलग्नता रहेको भन्दै लुटिएको नगद र सुन तथा गहना फिर्ता पाउँने आशामा बच्चा सोनीका परिवारजनले नेपालमा भएका आफ्ना आफन्त मार्फत प्रहरी प्रशासनमा हारगुहार गरी रहेका छन् ।

लुटने योजनामा पुगेका थिए खड्का र ठकुरी

सीवानको कनक मन्दिर ज्वेलर्सका संचालक बच्चा सोनीको घरमा घरेलु कामदारको रुपमा पुगेका कैलालीका समीर खड्का र कलक सिंह ठकुरीले आफ्नो पहिचान लुकाएर त्यहाँ पुगेको देखिन्छ । उनीहरुले घर मालिकलाई दिएको परिचय पत्र नक्कली रहेको भेटिएको छ । उनीहरुले अर्कैको नेपाली नागरिकताको प्रतिलिपीमा आफ्नो फोटो राखेर बुझाएका थिए ।

घटनामा संलग्न समीर खड्का र कनक सिंह ठकुरी

समीर खड्काको परिचयपत्रको प्रतिलिपिमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको हेडलाईन भएको नागरिकताको प्रतिलिपिमा सुनसरी, धरानमा जन्म भई नवलपरासी बसाई सराई गरी वनाएको नागरिकताको प्रतिलिपी घर साहुँलाई बुझाएका थिए ।

त्यसैगरी कलक सिंह ठकुरीले जिल्ला प्रशासन कार्यालय स्यान्जा पुतलीबजार ठेगना उल्लेखगरी कृष्ण पौडेलको नाउँमा जारी भएको नागरिकताको प्रतिलिपी घर साहुँलाई बुझाएको देखिन्छ । उनीहरुले सीवानमा बच्चा सोनीको घरमा बस्दा समीरले आफूलाई सुजन पोखरेल र कलक सिंह ठकुरीले कृष्णा पौडेलको परिचय दिएका थिए । दुवै जनाको फेसबुक आइडी भने फरक नामबाट चलाउने गरेको पाइएको छ ।

उनीहरुलको खोजतलाश गर्ने क्रममा सुजन पोखरेल बताउने समीर खड्काले चिराज खड्काको नाममा फेसबुक आइडी बनाएर चलाउने गरेको देखिन्छ । अर्को कलक सिंह ठकुरीको अग्रेजी र नेपाली नामबाट दुईवटा फ्सबुक आइडी संचालनमा छन् । उसलाई भने प्रहरीे फेला पार्न सकेको छैन । ठकुरीले तलकोट गाउँपालिका भवनलाई आफ्नो घर भएको भन्दै ५ करोडमा घर बनाएको जिकिर गदैै फेसबुकमा भिडियो सार्वजनिक गरेको छ ।

प्रहरीले के गर्दै छ ?

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक पदम विष्टले आफू आउँनु भन्दा अगाडीको घटना भएकोले यस बिषयमा जानकार नभएको बताए । भारतका विभिन्न शहरमा भएका लुटपाटका घटनामा बझांङ, अछाम, बाजुरा, डोटी, डडेलधुरा, कैलाली घर भएका व्यक्तिको नाम आउने गरेको एसपी विष्टले जानकारी दिए ।

सीवानको घटनाका मुख्य योजनाकार शिव खत्री र अभिषेक आचार्य रहेको ठहर भारतीय प्रहरीको छ । उनीहरुले समीर खड्का र कलक सिंह ठकुरीलाई सुन पसल लुटने योजनाका साथ त्यहाँ पठाएका थिए । उनीहरुले लुटेको सुन कैलाली गौरीगंगा नगरपालिकाका सुन व्यवसायी प्रतिक सिंहले राखेको हुन सक्ने अनुमान भारतीय प्रहरीको छ ।

गौरीगंगाका स्थानीयले दिएको जानकारी अनुसार प्रतिक सिंहको घरमा समीर खड्का बस्दै आएका थिए । समीरले प्रतिकको मोटरसाइकल चलाउने गरेको उनको फेसबुकबाट समेत प्रष्ट देख्न सकिन्छ । प्रहरी हिरासतमा रहेका खड्कालाई सीवानको घटनाको बिषयमा समेत अनुसन्धान गरिने कैलालीका प्रहरी उपरिक्षक (एसप) पदम विष्टले बताए ।

सुन लुटेको घटनामा संलग्न रहेका नेपालीका बारेमा पनि अनुसन्धान गरिने र लुटिएको सामान फिर्ता दिनेगरी प्रहरी परिचालन गरिएको एसपी विष्टको भनाई छ । यो घटनामा संलग्न व्यक्तिलाई भारतीय प्रहरीको जिम्मा दिन सकिदैन तर उनीहरुले लुटेको सामान पत्ता लगाउने दिने काम गरिन्छ एसपी विष्टले भने ।

फेसबुकमा चिराज खड्का राख्ने समीर खड्का र उनको फेसबुक


सम्बन्धित समाचार