Logo

२४ जेठ, जनकपुर । मधेसमा जनता समाजवादी पार्टी नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेपछि जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने भएको छ।

नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलको समेत गरी ५६ जनाको समर्थनमा मुख्यमन्त्रीमा जनमतका संसदीय दलका नेता महेशकुमार यादवले बिहिबार दावी पेश गर्ने तयारी छ।

सत्ता गठबन्धनका तर्फबाट महेशकुमार यादवले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् ।  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधवार बेलुका नयाँ सरकार बनाउन आह्वान गरेपछि दाबी पेस गर्ने तयारी भएको प्रदेशसभा सदस्य युवराज भट्टराईले बताए ।

बुधबार प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री सरोजकुमार यादव कामचलाउ बन्न पुगेका छन्।

नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता युवराज भट्टराईका अनुसार, गठबन्धनमा रहेका चार दलका साथै एक स्वतन्त्र र एक संघीय समाजवादी पार्टीका सांसदले पनि समर्थन गरेका छन्।

जनमतका नेताहरूका अनुसार, जनमतका महेशकुमार यादव मुख्यमन्त्री भएपछि माओवादी केन्द्रले आर्थिक मामिला मन्त्रालय लिने सहमति जुटिसकेको छ।

अन्य मन्त्रालय एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र जनमतलाई न्यायोचित विभाजन गर्ने नेताहरू बताउँछन्।

‘सरकार विस्तारमा समस्या हुँदैन, एक खालको समझदारी जुटिसकेको छ,’ जनमत पार्टीका एक सांसदका अनुसार जेठ २८ गते विश्वासको मत लिने समझदारी बनेको छ ।


सम्बन्धित समाचार