Logo

२७ जेठ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत गएका छन्। तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आज साँझ ७ः १५ बजे शपथ लिँदै छन्।

मोदीले निर्वाचनको परिणाम पछि प्रधानमन्त्री दाहालसँग कुराकानी गर्दै शपथ समारोहमा सहभागिताको लागि निमन्त्रणा गरेका थिए। प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो। यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए।

सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गरेको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ।

 


सम्बन्धित समाचार