२४ साउन,काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ।
प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन्। उनले त्यसको विस्तृत विवरण भने सरकारले गठन गरेको छानविन समितिले दिने पनि बताए।
सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ। महानिर्देशक अधिकारीले भिएफआरको अनुमतिविपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गरे।
उनले भने, ‘टावरबाट सम्पर्क विच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी ग¥यौँ। जबसम्म हामी क्र्यास साइट आईडेन्टीफाई तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो। तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउनेबित्तिकै हेलिकप्टर खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो। र नेपाल सरकारले यो दुर्घटना छानविन आयोग गठन गरिसकेको अवस्थामा यसको रुटकज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्नँ। यद्यपि यो छानविन आयोगले नै बताउला।
ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ। यो चाहीँ पाईलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट अनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो। यो कानुनले वर्जित गरेको विषय हो। यो रुटकज भनेको चाँही भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा।’
साउन २३ गते बुधबार (हिजो) सो हवाईजहाज दुर्घटना हुँदा चारजना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो।

















