२४ साउन,वीरगञ्ज । प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर १ निवासी २४ वर्षका रमेश साह रहेका छन् ।
उनीमाथि सादा पोशाकको प्रहरी भन्दै रकम असुली गरेको आरोप छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले उनलाई चन्द्रनिगाहापुर नगरपालिका–९ डुमरिया चोकबाट पक्राउ गरेको हो । प्रहरीले साहले बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद गरेको बताएको छ ।
आफू सादा पोशाकको प्रहरी भन्दै सर्वसधारणलाई धम्क्याउँदै रकम असुल गर्ने गरेको पाइएको रौतहट प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले पुष्टि गरिन् ।
यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


















