Logo

२४ मंसिर, सेंढवा । पर्साका स्थानीय तहहरुमा जडान गरिएका सीसीटीभी क्यामरा मर्मत अभावमा जीर्ण भएका छन् । सेवा प्रवाह प्रभावकारी तथा शिक्षक बिद्यार्थीहरुलाई निगरानीका लागि स्थानीय तहले सीसीटीभी क्यामरा जडान गरेका थिए ।

तर, अहिले अधिकांश स्थानीय तहमा जडान गरिएका सीसीटीभी क्यामराहरु संरक्षण अभावले बन्द रहेका छन् । ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी, छिपहरमाई लगायतका गाउँपालिकाको कार्यालयको साथै माध्यमिक तहका बिद्यालयहरुमा समेत सीसीटीभी क्यामरा जडान गरिएका थिए । तर अहिले अधिकांश सीसीटीभी क्यामरा बिग्रिएर बन्द अवस्थामा रहेका छन् ।

सखुवाप्रसौनी गाउँपालिका वडा नं १ मा रहेको नेपाल राष्ट्रिय मावि सिरही सथवलका प्रधानाध्यापक दिलिप बुढाथोकीका अनुसार जडान गरिएको सीसीटीभी क्यामरा केहि केही महिनामै बिग्रेर बन्द अवस्थामा रहेको छ । त्यसको मर्मत गरी संचालनमा ल्याउनका लागि मौखिक रुपमा सम्बन्धित निकायलाई जानकारी गराएपनि कुनै किसिमको पहल नभएको प्रधनाध्यापक बुढाथोकीले बताए ।

पटेर्वासुगौली गाँउपालिका वडा नं.–४ मा रहेका नेपाल राष्ट्रिय मावि दाप सुगौलीका रामाशंकर प्रसाद राउतले बिद्यालयमा जडान भएका सीसीटीभी क्यामरा संचालनमा नरहेको बताए । स्थानीय तहको दोस्रो निर्वाचनको मतगणनाका मतदान अधिकृतले सेटअप बक्स लिएर गएका र हालसम्म फिर्ता नआएकाले संचालनमा आउन नसकेको प्रधानाध्यापक राउतले बताए ।

पटेर्वासुगौली गाउपालिका वडा नं.– ५ मा रहेको नेपाल राष्ट्रिय मावि निचुटामा पनि जडान गरिएका ६ वटा सीसीटीभी क्यामरा बिग्रेर थन्किएका शिक्षक श्याम घिमिरेले बताए । त्यस्तै ठोरी गाँउपालिका वडा ५ को ज्ञानबाटिका मावि सुवर्णपुरमा जडित दुई वटा क्यामराहरु संचालनमा नरहेको शिक्षकहरुले बताएका छन् ।

जिराभवानी गाउँपालिकाका वडा नं २ को नेरामावि सेढवा बिर्ताका प्रधानाध्यापक खेमराज महतोले बिद्यालयको कम्पाउन्ड अधुरा भएकाले अनाधिकृत व्यक्तिहरु प्रबेश गरी क्यामरामा क्षति पु-याउँदा बन्द भएको बताए । कक्षाकोठामा जडान गरिएका क्यामरा भने संचलनमा रहेको प्रधानाध्यापक महतोको भनाई छ ।

वडा नं २ रंगपुरमा जडान गरिएका क्यामरा संचालनमा रहेको र प्राविधिक सामग्री प्रहरी चौकी रंगपुरको कार्यालयमा रहेको शिक्षा शाखा प्रमुख सोलेन्द्र पंजियारले बताए ।

सखुवाप्रसौनी गाउपालिका स्थित दिपनारायण नमूना बिद्यालय औराहा पंचगावाका प्रधानाध्यापक शिवनाथ चौधरीले बिद्यालयको स्रोतबाट निगरानीका लागि सीसीटीभी क्यामेरा जडान गरेको बताए । बिद्यालय परिसर र कक्षाकोठामा गरी ४२ वटा क्यामरा जडान रहेको चौधरीले बताए ।

 


सम्बन्धित समाचार