
१९ फागुन,वीरगञ्ज । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा भाग लिनका लागि वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा झण्डै तीन दर्जन दल दर्ता गराएका छन् ।
त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार विहानदेखि दल दर्ताको कार्यतालिका थियो । सोही कार्यतालिका बमोजिम मुख्यमुख्य राजनीतिक दल तथा प्यानल र समूहका गरी कुल ३४ वटा दलले आफ्नो दल दर्ता गराएको स्ववियु निर्वाचन समितिका प्रमुख दिलीप सिंहले बताए ।
उनका अनुसार निर्वाचन समितिले प्रकाशन गरेको कार्यतालिका अनुसार विहान ११ बजेदेखि ३ बजेसम्म दल दर्ताको कार्य भएको थियो । अब यसपछाडि अन्य निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए ।
खासगरी मुख्यमुख्य राजनीतिक दलका विद्यार्थी संगठनहरु नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी संगठन, समाजवादी युनियन, समाजवादी युनियन नेपाल, विद्यार्थी जनमत संघ, नयाँ शक्ति विद्यार्थी युनियन, प्राज्ञिक विद्यार्थी परिषद्सहित संयुक्त संगठन, प्यानल तथा व्यक्तिका समूहसहितकाले दल दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
लामो समयपछि कलेजमा स्ववियु निर्वाचन भइरहेको धेरै दल चुनावप्रति आकर्षण बढेको जनाइएको छ । करिब १६ वर्ष पछाडि स्ववियु निर्वाचन भइरहेको ठाकुरराम बहुमुखी क्याम्पसले जनाएको छ ।
०६५ सालपछि चुनाव रोकिएको ठाकुराम बहुमुखी क्याम्पसले जनाएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आगामी ५ चैतमा स्ववियु निर्वाचको मिति राखेको छ ।