
२१ फागुन,काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइएकोबारे संसद्मा जवाफ दिन ऊर्जामन्त्री दीपक खड्कालाई सभामुखले रूलिङ गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी, रास्वपा, राप्रपा लगायतका दलले कुलमानलाई शून्य नम्बर दिइएकोबारे सरकारको जवाफ माग गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रूलिङ गरेका हुन् ।
‘आजको बैठकमा सबै प्रतिपक्षीको तर्फबाट राखिएको विषय सम्बन्धमा माननीय मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछु । उठेका विषयमा जानकारी गराउन निर्देशन गर्छु’ सभामुख घिमिरेले भने ।
त्यसअघि प्रतिनिधिसभा बैठकको शुरूमै विपक्षी दलको तर्फबाट माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्रीको जवाफका लागि रूलिङ माग गर्दै अन्यथा संसद्मा विरोध गर्ने बताएका थिए ।