Logo

१२ चैत, भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित एक भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

थाइल्याण्डको बैंककबाट भैरहवा आएको एयर एशियाको विमानमाबाट गाँजा सहित भारतको केरलाका ३५ वर्षीय रथिस कुमार चम्बुकारा गान्धीलाई पक्राउ गरेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रवक्ता एसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका गान्धीले लगेजमा लुकाएर ल्याएको ११ किलो २ सय ग्राम गाँजा चेकजाँचको क्रममा बरामद भएको हो । उनले विभिन्न खानेकुरा सँगै गाँजा पनि ल्याएका थिए ।

यसअघि पनि गत चैत ४ गते विमानस्थल प्रहरीले एयर एशियाको विमानमा आएका भारतीय महिलाको साथबाट साढे सात किलो गाँजा बरामद गरेको थियो ।

गाँजासहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाईएको विमानस्थल प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार