
१७ चैत,काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको सभामुखको च्याम्बरमा छलफल भइरहेको छ । सदन सञ्चालनका विषयमा प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ ।
छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलका प्रमुख सचेतक सहभागी छन् ।
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएकोमा शुरू भएको छ । सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेपछि बैठक शुरू हुनेछ ।
यसअघि दुई दिनको बैठक विपक्षी दलको अवरोधका कारण सञ्चालन हुन सकेको थिएन ।
संसद् सचिवालयले आइतबार लागि सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै उक्त विधेयक प्रस्तुत गर्नेछन् ।
यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि आजको बैठकमा रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।