
१ वैशाख, काठमाडौँ । आज वैशाख १ गते, विक्रम संवत् २०८२ सालको पहिलो दिन । नयाँ वर्षको सुरुवात देशभर विविध सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यक्रममार्फत हर्षोल्लास र शुभकामनाको आदानप्रदान गर्दै मनाइँदैछ ।
आजको दिन सूर्यले मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने अर्थात् वैशाख सङ्क्रान्ति (मेष सङ्क्रान्ति) पनि भएकाले यस दिनलाई सौर नयाँ वर्षको प्रारम्भका रूपमा समेत मानिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार विक्रम संवत् सूर्यको गतिसँग मेल खाने शाश्वत संवत् हो । “विक्रम ६० संवत्सरमध्ये एक हो र सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो,” भट्टराई बताउँछन्, “यस संवत्मा शक संवत्का विशेषता र इश्वी संवत्का व्यावहारिक गुणहरू समेत समेटिएका छन् ।”
नयाँ वर्षको दिन हरेक नेपालीले विगत वर्षको समीक्षा, असफलताको सुधार, र सफलताको दोहोऱ्याउने योजना बनाउने परम्परा रहेको छ । आजको दिन बिहानै उठेर नुहाउने, घर-आँगन सफा गर्ने, मठमन्दिरमा पूजा-आराधना गर्ने, मीठो परिकार खाने, र आफन्तजन, साथीसङ्गीसँग शुभकामना आदानप्रदान गर्ने चलन छ ।
विश्वभर छरिएर रहेका नेपालीहरूका लागि पनि आजको दिन महत्वपूर्ण रहन्छ। जहाँ भए पनि नयाँ वर्षका रूपमा वैशाख १ गतेलाई विशेष उत्सवका साथ मनाउने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार चान्द्रमान अनुसार नयाँ संवत्सर चैत्र शुक्ल प्रतिपदाबाट, अर्थात् चैत १७ गतेदेखि सुरु भइसकेको छ । यस वर्ष सुरु भएको संवत्सरको नाम सिद्धार्थी हो, जुन ६० संवत्सरमध्ये ५३ औं हो ।
वैदिक सनातन परम्पराअनुसार ६० संवत्सरहरू आदि-अनादिकालदेखि पुनःपुनः घुमिरहेका छन् । पहिलो संवत्सर प्रभव मानिन्छ। सूर्यको राशिगत गति अनुसार वैज्ञानिक आधारमा निर्मित विक्रम संवत्, नेपाल तथा हिन्दू धर्मावलम्बीहरूको मौलिक संवत् हो ।