Logo

१५ वैशाख,काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले आइतबार राति आएको हावाहुरी र असिनापानीका कारण मधेसका किसानहरू नराम्ररी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले बारा, रौतहट, पर्सा लगायतका जिल्लामा किसानहरूको बालीनालीमा ठूलो क्षति पुगेको र जनजीवन अस्तव्यस्त भएको बताए।

उनले आँप, लिचीसहित तरकारी खेतीमा व्यापक क्षति पुगेको जानकारी दिँदै पीडित किसानहरूलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरे। प्राकृतिक प्रकोपका कारण अवरुद्ध भएका विद्युत र सञ्चार सेवाहरूलाई तत्काल सुचारु गर्न पनि उनले आग्रह गरे। “किसानको आँप, लिचीसहित तरकारी खेतीमा क्षति पुगेको छ। गरिबका घरको छाना उडाएको छ भने कतिपयको घर भत्किएको छ। विद्युतका पोल ढलेर विद्युत अवरुद्ध छ, सञ्चार सेवा पनि अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ,“ सांसद साहले भने।

यसैगरी, सांसद साहले हुलाकी राजमार्ग अन्तर्गत मटिअर्वा–कलैया–पिलुवा सडकखण्डको कलैया बजार क्षेत्रमा वर्षौंदेखि ठेक्का लागेर पनि ३ किलोमिटर सडक निर्माण नभएको विषयमा सरकारसँग जवाफ माग गरेका छन्। वर्षाका कारण हिलाम्य भएको उक्त सडक १० वर्षदेखि अलपत्र परेको र यसले सर्वसाधारणलाई ठूलो सास्ती भएको उनले बताए।

“खासगरी प्रधानमन्त्रीसँग मेरो प्रश्न छ, त्यहाँबाट एमालेकै मेयर, विधायक र सांसद जितेको छ। भौतिक मन्त्री, अर्थमन्त्री पनि एमालेकै छ। प्रधानमन्त्री पनि एमालेकै छ। तर पनि ३ किलोमिटर सडक कालोपत्रे हुन नसक्नुको कारण के छ? सरकारले जवाफ दिनुपर्छ,“ उनले भने। सरकारको लापरवाहीका कारण सडक निर्माण समयमै सम्पन्न नभएको उनको आरोप छ।


सम्बन्धित समाचार