
१५ वैशाख,काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिन गर्न गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन सार्वजनिक लेखा समितिमा बुझाएको छ। सोमबार उपसमितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले २०८१ असार १४ गते भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन गरी छानबिनका लागि दुई अलग उपसमिति गठन गरेको थियो। तर, पोखरा विमानस्थलको छानबिन उपसमितिले आज प्रतिवेदन बुझाएको हो।
उक्त उपसमितिमा सांसदहरू दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य रहेका थिए। प्रतिवेदनमा उल्लेख भएअनुसार विमानस्थल निर्माणका क्रममा १० अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार भएको निष्कर्ष निकालिएको छ।
उपसमितिले पोखरा विमानस्थल निर्माणका लागि नीतिगत निर्णयको आडमा भ्रष्टाचार गरिएको ठहर गरेको छ। अब सार्वजनिक लेखा समितिले यो प्रतिवेदनमाथि थप छलफल र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ।