
३ वैशाख,काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोट अन्तर्गत आज भएको खेलमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।
तल्लो मूलपानी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सक्यो। हङकङका कप्तान शिव माथुरले सर्वाधिक ६३ रनको योगदान दिए।
नेपालका लागि बलर युवराज खत्रीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। यस्तै, विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट हात पारे।
यसअघि नेपालले प्रतियोगितामा खेलेका दुवै खेलमा जित हासिल गरेको छ। नेपालले पहिलो खेलमा यूएईलाई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। एशिया छनोटमा नेपाल र हङकङसहित ओमान, यूएई र अफगानिस्तान गरी पाँच टोली सहभागी छन्।
छनोटको शीर्ष स्थानमा रहने टोलीले आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा स्थान बनाउनेछ। प्रतियोगिताका बाँकी खेलहरू पनि माथिल्लो र तल्लो मूलपानी मैदानमा हुनेछन्।