Logo

४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा हनुमान जयन्तीको शोभा यात्रामा दुई पक्ष बीच भएको झडप र त्यसबाट सिर्जना भएको तनावप्रति वीरगञ्ज उद्योग वाणिज्य सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले आज एक विज्ञप्ति जारी गर्दै मुलुकको आर्थिक राजधानीको रूपमा पहिचान बनाइरहेको वीरगञ्जको आर्थिक शक्ति र सामथ्र्यलाई सबैको सहयोग र सहकार्यबाट सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा पछिल्ला वर्षहरूमा मधेश आन्दोलन, कोभिड(१९ लगायतका कारण उद्योग, व्यापार, व्यवसायमा आएको संकुचन र गतिहीनताको प्रभाव वीरगञ्जले प्रत्यक्ष रूपमा भोगिरहेको स्मरण गराइएको छ। यस्तो अवस्थामा विस्तारै भए पनि उद्योग, व्यापारमा सुधार र अर्थतन्त्र गतिशील भइरहेको बेला पुनः यस किसिमको घटना हुनु दुःखद र विचारणीय भएको सङ्घले जनाएको छ।

सङ्घले आफ्नो मूल अभिष्ट “सर्व धर्म समभाव” लाई प्रवर्द्धन गर्दै समाजलाई समुन्नत र सुसंस्कृत बनाएर लैजानु प्रत्येक नगरवासीको दायित्व भएको उल्लेख गरेको छ। वर्तमानको असहज परिस्थितिमा वीरगञ्जवासीलाई संयमित र सजग रहन सङ्घले अनुरोध गरेको छ।

विज्ञप्तिमा वर्तमानको असहज परिस्थितिलाई सबै पक्ष मिलेर समाधान गर्नेतर्फ सामूहिक भूमिका केन्द्रित हुनुपर्ने अपेक्षा गरिएको छ। शान्ति र सद्भावबाटै समाज समुन्नत हुने भएकोले वीरगञ्जलाई शान्त र समुन्नत बनाउन सबैलाई सहयोग गर्न सङ्घले आह्वान गरेको छ।


सम्बन्धित समाचार