
५ वैशाख, काठमाडौँ । शिक्षा विधेयकलाई यथासक्य चाँडो ऐनका रूपमा पारित गरिनुपर्ने मागसहित जारी शिक्षकहरुको आन्दोलन आज १७ औं दिनमा प्रवेश गरेको छ । आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षणदेखि कक्षा १२ को परीक्षा तथा नयाँ शैक्षिक सत्रका भर्ना अभियानसम्म प्रभावित भएका छन् ।
नेपाल शिक्षक महासङ्घको अगुवाइमा भइरहेका प्रदर्शनहरू अन्तर्गत आज पनि दिउँसो १२ बजे माइतीघर मण्डलाबाट विरोधसभा सुरु गरी, ३ बजे बानेश्वरमा समापन गर्ने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, शिक्षकहरूको सहभागिता नहुँदा वैशाख ११ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षा सञ्चालनमा अन्योल बढेको छ। बोर्डले परीक्षा सफल बनाउन शिक्षकहरुलाई सहभागी हुन आग्रह गर्दै आएको छ । साथै, कक्षा १० को उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को परीक्षा व्यवस्थापनमा सहयोग गर्न पनि बोर्डले अनुरोध गरेको छ ।
तर, शिक्षक महासङ्घले भने विद्यालय शिक्षा ऐन जारी नभएसम्म कुनै पनि परीक्षामा सहभागी नहुने अडान लिएको छ । महासङ्घका अनुसार, विधेयकले शिक्षकमाथिका अन्याय, असुरक्षा र पेशागत अधिकार सम्बन्धी विषय समाधान नगरेसम्म आन्दोलन जारी रहनेछ ।
विद्यालय शिक्षा विधेयक हाल संसद्को शिक्षा समितिअन्तर्गतको उपसमितिमा छलफलमा रहेको छ । १६३ दफा रहेको विधेयकमध्ये ७६ दफा पारित भइसकेको छ भने २० दफामा छलफल भई पारित हुन बाँकी रहेको समितिले जनाएको छ । उपसमितिमा दैनिक ४–५ घण्टा विधेयकमाथि छलफल भइरहेको छ ।
सरकारले यही वैशाख १२ गते संसद्को अधिवेशन बोलाएको छ, जसमा विधेयक पारित प्रक्रियालाई तीव्रता दिने अपेक्षा गरिएको छ ।