Logo

५ वैशाख, डोटी । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा बिहीबार दिउँसो सिकार खेल्न गएका सार्कीलाई सोही ठाउँका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेको थियो।

खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तले दिएको जानकारी अनुसार सार्कीको दायाँ छातीमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको हो।

यस घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाउँदै प्रहरीले कमलसिंह खड्कासहित १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बडीकेदार गाउँपालिका–१ रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ का तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगर रहेका छन्।

प्रहरीले घटनाको प्रकृति र संलग्नताको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार