Logo

७ वैशाख, काठमाडौं । नेपालमा संचालनमा रहेका २० वटा वाणिज्य बैंक मध्ये ३ वटा ठूला बैंकको वित्तिय अवस्था संकटग्रस्त देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एनआइसी एसिया, कुमारी र हिमालयन बैंक संकट उन्मुख अवस्थामा देखिएका हुन ।

सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो । ११ बैंकको नाफा गत बर्षको तुलनामा बढेको छ भने ९ वटा बाणिज्य बैंकको घटेको छ ।

सार्वजनिक विवरणअनुसार गत बर्षको तुलनामा एनआईसी एसिया बैंक ९१.८१ प्रतिशत घाटामा पुगेको छ । सो बैंकले गत बर्ष १ अर्ब ९१ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक बर्षमा १५ करोड मात्र नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । त्यसैगरी हिमालयन बैंकले गत बर्ष चैत मसान्त सम्म १ अर्ब ९४ करोड नाफा आर्जन गरेकोमा चालु आर्थिक बर्षमा ५० करोड मात्र नाफा कमाएको छ ।

त्यसैगरी कुमारी बैंकको गत बर्षको चैत मसान्त सम्म १ अर्ब ५ करोड नाफा कमाएकोमा चालु आर्थिक बर्षमा २८ करोड मात्र आर्जन गरेको छ । कुमारीले गत बर्षको तुलनामा ७२.८५ प्रतिशत नाफा घटेको देखिन्छ । बाणिज्य बैंकहरु माध्ये नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ ।

यद्यपि वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो बैंकको नाफा २१ गुणा बढेको छ । त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । सो बैंकको नाफा ९१.८ प्रतिशत घटेको छ ।

नेपालमा संचालनमा रहेका ठूला बाणिज्य बैंकहरुको वित्तिय विवरण हेर्ने हो भने एनआईसी एसिया, कुमारी र हिमालयन बैंक डुब्ने स्थितीमा देखिएका छन् । ती बैंकहरुले गरेको लगानीको ठाउँहरु सुरक्षित नदेखिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।

बाणिज्य बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक समेत संकटग्रस्त बैंकहरुको वित्तिय अवस्थाका बारेमा जानकारी पाएर पनि मौन देखिन्छ । नेपाल राष्ट्र बैंकले यसमा कठोर कदम नचाल्ने हो भने जनताको अबौं रकम डुब्ने स्थिती देखिएको छ ।

बाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण

बैंक नाफा, चैत ०८१ नाफा, चैत ०८० वृद्धिदर प्रतिशत
नबिल ५ अर्ब ५ करोड ४ अर्ब ६६ करोड ८.२१
ग्लोबल आईएमई ४ अर्ब ५३ करोड ३ अर्ब ३० करोड ३७.१२
एनआईएमबी ४ अर्ब ५४ करोड ३ अर्ब २७ करोड ३८.६१
एनएमबी २ अर्ब ३७ करोड २ अर्ब २४ करोड ५.८८
एभरेस्ट ३ अर्ब ४५ करोड २ अर्ब ६० करोड ३२.५५
एनआईसी एसिया १५ करोड १ अर्ब ९१ करोड –९१.८१
कृषि विकास १ अर्ब ८४ करोड २ अर्ब ५ करोड –१०.१६
प्राइम २ अर्ब २२ करोड २ अर्ब ८७ करोड –२२.५५
स्टान्डर्ड चार्टर्ड २ अर्ब १७ करोड २ अर्ब ४४ करोड –११.१७
नेपाल एसबीआई १ अर्ब २० करोड १ अर्ब १६ करोड ३.३५
सिटिजन्स ९६ करोड १ अर्ब २१ करोड –२०.५९
सानिमा १ अर्ब ६५ करोड १ अर्ब ४३ करोड १४.७९
माछापुच्छ्रे १ अर्ब १० करोड ८५ करोड २८.८९
कुमारी २८ करोड १ अर्ब ५ करोड –७२.८५
नेपाल २ अर्ब ७८ करोड १३ करोड २०३२.७९
सिद्धार्थ १ अर्ब ६६ करोड १ अर्ब ६८ करोड –०.९३
लक्ष्मी सनराइज १ अर्ब ६५ करोड १ अर्ब ६१ करोड २.२४
हिमालयन ५० करोड १ अर्ब ९४ करोड –७४.३३
प्रभु १ अर्ब ८७ करोड १ अर्ब ८१ करोड ३.५०
राष्ट्रिय वाणिज्य १ अर्ब २० करोड २ अर्ब ३७ करोड –४९.२८

 


सम्बन्धित समाचार