७ वैशाख, काठमाडौं । नेपालमा संचालनमा रहेका २० वटा वाणिज्य बैंक मध्ये ३ वटा ठूला बैंकको वित्तिय अवस्था संकटग्रस्त देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एनआइसी एसिया, कुमारी र हिमालयन बैंक संकट उन्मुख अवस्थामा देखिएका हुन ।
सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो । ११ बैंकको नाफा गत बर्षको तुलनामा बढेको छ भने ९ वटा बाणिज्य बैंकको घटेको छ ।
सार्वजनिक विवरणअनुसार गत बर्षको तुलनामा एनआईसी एसिया बैंक ९१.८१ प्रतिशत घाटामा पुगेको छ । सो बैंकले गत बर्ष १ अर्ब ९१ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक बर्षमा १५ करोड मात्र नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । त्यसैगरी हिमालयन बैंकले गत बर्ष चैत मसान्त सम्म १ अर्ब ९४ करोड नाफा आर्जन गरेकोमा चालु आर्थिक बर्षमा ५० करोड मात्र नाफा कमाएको छ ।
त्यसैगरी कुमारी बैंकको गत बर्षको चैत मसान्त सम्म १ अर्ब ५ करोड नाफा कमाएकोमा चालु आर्थिक बर्षमा २८ करोड मात्र आर्जन गरेको छ । कुमारीले गत बर्षको तुलनामा ७२.८५ प्रतिशत नाफा घटेको देखिन्छ । बाणिज्य बैंकहरु माध्ये नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ ।
यद्यपि वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो बैंकको नाफा २१ गुणा बढेको छ । त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । सो बैंकको नाफा ९१.८ प्रतिशत घटेको छ ।
नेपालमा संचालनमा रहेका ठूला बाणिज्य बैंकहरुको वित्तिय विवरण हेर्ने हो भने एनआईसी एसिया, कुमारी र हिमालयन बैंक डुब्ने स्थितीमा देखिएका छन् । ती बैंकहरुले गरेको लगानीको ठाउँहरु सुरक्षित नदेखिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।
बाणिज्य बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक समेत संकटग्रस्त बैंकहरुको वित्तिय अवस्थाका बारेमा जानकारी पाएर पनि मौन देखिन्छ । नेपाल राष्ट्र बैंकले यसमा कठोर कदम नचाल्ने हो भने जनताको अबौं रकम डुब्ने स्थिती देखिएको छ ।
बाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण
| बैंक | नाफा, चैत ०८१ | नाफा, चैत ०८० | वृद्धिदर प्रतिशत |
| नबिल | ५ अर्ब ५ करोड | ४ अर्ब ६६ करोड | ८.२१ |
| ग्लोबल आईएमई | ४ अर्ब ५३ करोड | ३ अर्ब ३० करोड | ३७.१२ |
| एनआईएमबी | ४ अर्ब ५४ करोड | ३ अर्ब २७ करोड | ३८.६१ |
| एनएमबी | २ अर्ब ३७ करोड | २ अर्ब २४ करोड | ५.८८ |
| एभरेस्ट | ३ अर्ब ४५ करोड | २ अर्ब ६० करोड | ३२.५५ |
| एनआईसी एसिया | १५ करोड | १ अर्ब ९१ करोड | –९१.८१ |
| कृषि विकास | १ अर्ब ८४ करोड | २ अर्ब ५ करोड | –१०.१६ |
| प्राइम | २ अर्ब २२ करोड | २ अर्ब ८७ करोड | –२२.५५ |
| स्टान्डर्ड चार्टर्ड | २ अर्ब १७ करोड | २ अर्ब ४४ करोड | –११.१७ |
| नेपाल एसबीआई | १ अर्ब २० करोड | १ अर्ब १६ करोड | ३.३५ |
| सिटिजन्स | ९६ करोड | १ अर्ब २१ करोड | –२०.५९ |
| सानिमा | १ अर्ब ६५ करोड | १ अर्ब ४३ करोड | १४.७९ |
| माछापुच्छ्रे | १ अर्ब १० करोड | ८५ करोड | २८.८९ |
| कुमारी | २८ करोड | १ अर्ब ५ करोड | –७२.८५ |
| नेपाल | २ अर्ब ७८ करोड | १३ करोड | २०३२.७९ |
| सिद्धार्थ | १ अर्ब ६६ करोड | १ अर्ब ६८ करोड | –०.९३ |
| लक्ष्मी सनराइज | १ अर्ब ६५ करोड | १ अर्ब ६१ करोड | २.२४ |
| हिमालयन | ५० करोड | १ अर्ब ९४ करोड | –७४.३३ |
| प्रभु | १ अर्ब ८७ करोड | १ अर्ब ८१ करोड | ३.५० |
| राष्ट्रिय वाणिज्य | १ अर्ब २० करोड | २ अर्ब ३७ करोड | –४९.२८ |

















