Logo

फाइल तस्बिर

८ वैशाख,वीरगञ्ज । वीरगञ्जस्थित एक व्यापारिक फर्मले आयातित मालसामानमा झन्डै ३ लाख रुपैयाँ भन्सार राजस्व छल्ने प्रयास गर्दा ७० लाख रुपैयाँभन्दा बढीको जरिवानामा परेको छ। आरएन इन्टरप्राइजेज नामक फर्मले परिमाण लुकाएर लैजान खोजेको जीरा वीरगञ्जको एकीकृत जाँचचौकी (आईसीपी) भन्सारले शनिबार नियन्त्रणमा लिएको हो।

आईसीपी भन्सार कार्यालयका अनुसार गत वैशाख ३ गते उक्त फर्मले भारतबाट जीरा आयात गर्दा दुईवटा भन्सार प्रज्ञापनपत्र पेस गरेको थियो। एउटा प्रज्ञापनपत्रमा उल्लेख गरिएको ३०० बोरा अर्थात् ९ हजार किलो जीराको परिमाण सही पाइए पनि अर्को प्रज्ञापनपत्रमा गडबडी फेला परेको हो।

भन्सारका अनुसार दोस्रो प्रज्ञापनपत्रमा ५४० बोरा जीरा घोषणा गरिएको भए पनि जाँचका क्रममा ७०० बोरा फेला परेको थियो। आरएनका एजेन्टले पेस गरेको प्रज्ञापनपत्रमा ५४० बोरामा १६ हजार ८ सय किलो जीरा उल्लेख थियो। तर, जाँचमा १४० बोरामा ४ हजार २ सय किलो बढी जीरा भेटिएको भन्सार कार्यालयले जनाएको छ। जाँचपास भएर बाहिरिन लागेको गाडीमा घोषणाभन्दा बढी सामान भएको आशंकामा भन्सारका जाँचकीले गेटबाट फर्काएका थिए।

वैशाख ४ गते भन्सारले खटाएको टोलीले उक्त गाडीमा रहेको जीराको परिमाण पुनः जाँच गरेको थियो। पुनः परीक्षणमा आयातकर्ताले घोषणा गरेको भन्दा १४० बोरा बढी जीरा भेटिएपछि भन्सारले फर्मलाई जरिवाना तिराएको हो। भन्सारको पहेंलो लेनमा जाँचपास भएको गाडीमा बढी परिमाण भेटिएपछि भन्सार ऐनको दफा ५७ अनुसार जरिवाना गरिएको भन्सारका सूचना अधिकारी अमित तिवारीले जानकारी दिए।

भन्सारले आयात(निर्यातलाई छिटो बनाउन स्वचालित रूपमा हरियो, पहेंलो र रातो लेनमार्फत जाँचपास गर्दै आएको छ। प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले व्यापारीले परिमाण नै लुकाएर सामान भित्र्याउन थालेपछि पुनः परीक्षणलाई तीव्र पारिएको बताए। उनले भने, “दैनिक जाँचपास भएका गाडीमध्ये केहीलाई नमूनाका रूपमा लिएर यस्तो परीक्षण भइरहेको छ।“


सम्बन्धित समाचार