
९ वैशाख,जनकपुर । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एक आमाले आफ्ना तीन छोराछोरीलाई विष सेवन गराई हत्या गरेकी छन् भने आफू पनि गम्भीर अवस्थामा रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक संजीव यादवका अनुसार सुशील साहकी ६ वर्षीया छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको विष सेवनबाट मृत्यु भएको हो। मृतकका आमा ३० वर्षीया पविता साह गम्भीर अवस्थामा छिन् र उनको उपचार प्रादेशिक अस्पताल जनकपुरको भेन्टिलेटरमा भइरहेको छ।
प्रहरीका अनुसार सोमबार साँझ ६ः४० बजे घरमै आमासहित तीनैजना बालबालिका विष सेवन गरेको अवस्थामा फेला परेका थिए। स्थानीयले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याए पनि अस्पताल पुग्दासम्म तीनैजना बालबालिकाको मृत्यु भइसकेको थियो। प्रहरीलाई भने राति पौने ९ बजे मात्र घटनाको खबर पुगेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घरायसी विवादका कारण पविताले आफ्ना तीनै छोराछोरीलाई विष सेवन गराई हत्या गरेपछि आफूले पनि आत्महत्याको प्रयास गरेको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।