Logo

९ बैशाख, वीरगञ्ज । भारतको जम्मु कश्मीरको लोकप्रिय पर्यटकीय गन्तव्य स्थान पहलगाममा आतंकवादी आक्रमणमा परि २६ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

मृत्युहुने व्यक्तिहरुको पहिचान खुलेको छैन । भारतीय संचार माध्यमका अनुसार मृत्यु हुनेमा केही विदेशी पर्यटकहरु समेत रहेका छन् । उक्त घटनामा नेपाली पर्यटक समेत परेको हुन सक्ने भारतीय संचार माध्यमले जनाएका छन् ।

जम्मु कश्मीरको पर्यटक स्थल पहलगाममा मंगलबार आतंकवादीहरूले अचानक आक्रमण गरेका थिए। यस भयावह घटनामा २६ जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन्। घाइतेहरूमा पर्यटक र स्थानीय बासिन्दा दुवै रहेको जनाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस आक्रमणको कडा निन्दा गर्दै भनेका छन् कि यस जघन्य अपराधमा संलग्न कोही पनि व्यक्तिलाई उन्मुक्ति दिइने छैन। उनले देशवासीहरूलाई भरोसा दिलाउँदै भने, यो कायराना आक्रमण गर्नेहरूलाई चाँडै न्यायको कठघरामा ल्याइनेछ।

प्रधानमन्त्री मोदीले यस विषयमा केन्द्रीय गृहमन्त्री अमित शाहसँग टेलिफोनमा कुराकानी गरेका थिए र घटनाको गम्भीरता ध्यानमा राख्दै तत्काल कदम चाल्न निर्देशन दिएका छन्। त्यसपछि गृहमन्त्री शाहले सुरक्षा एजेन्सीसँग आपतकालीन समिक्षा बैठक बोलाउने घोषणा गरेका छन् र अहिले श्रीनगरतर्फ प्रस्थान गरिसकेका छन्।

घटनापछि पहलगाम र वरपरका क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। सेना, सीआरपीएफ र स्थानीय प्रहरीद्वारा सर्च अपरेसन जारी छ। सबै घाइतेहरूलाई नजिकका अस्पतालहरूमा भर्ना गराइएको छ र उपचार भइरहेको छ। (तस्वीर तथा समाचार स्रोत भारतीय संचार माध्यम)


सम्बन्धित समाचार