Logo

१० बैशाख, काठमाडौँ । विद्यालय व्यवस्थापन समिति महासङ्घले सडकमा रहेका शिक्षकहरुलाई विद्यालय फर्कने वातावरण बनाउन नेपाल शिक्षक महासंघ र सरकार दुबैलाई आग्रह गरेको छ ।

लामो समयदेखि जारी शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भईरहेका बेला व्यवस्थापन समिति महासङ्घले समस्या समाधानको लागि शिक्षक र सरकार दुबैलाई वार्तामा बस्न आग्रह गरेको हो ।

महासङ्घका अध्यक्ष गुणराज मुक्तानले मङ्गलबार जारी गरेको विज्ञप्तिमा, संविधान जारी भएको दशकसम्म शिक्षकसम्बन्धी ऐन नबनेकै कारण आन्दोलन भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । साथै, शिक्षकको आवाज सुन्ने र समस्या संवादबाट समाधान गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।

महासङ्घले शैक्षिक हड्तालका कारण देशभरका झन्डै २८ हजार सामुदायिक विद्यालय प्रभावित भएको र त्यसले विद्यार्थीको परीक्षा, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध बनेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

कक्षा १२ को परीक्षा समेत प्रभावित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनका कारण भोलिदेखि सुरु हुने भनिएको परीक्षा १० दिन पछि सारेको जनाएको छ । अब परीक्षा बैशाख २१ गतेबाट सुरु हुनेछ ।

विज्ञप्तिमा महासङ्घले शिक्षकको मागलाई गम्भीरतासाथ लिँदै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको र यथाशीघ्र समाधानको बाटो पहिल्याउन जोड दिएको छ ।


सम्बन्धित समाचार