
१० वैशाख, वीरगञ्ज । भारतीय मोबाइल सिम प्रयोग गर्ने उद्देश्यले वीरगन्जमा अवैध रूपमा राखिएका चारवटा मोबाइल सिग्नल बुस्टर तथा एम्प्लिफायर प्रहरीले जफत गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको सक्रियता र एनसेलको उजुरीपछि यो सफलता मिलेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, यस्ता बुस्टर वा एम्प्लिफायर प्रयोग गर्न अनुमति आवश्यक पर्छ। तर, वीरगञ्जमा भारतीय एयरटेल, जियो, बीएसएनएलजस्ता कम्पनीका सिम चलाउन सिग्नल बढाउन यी उपकरणहरू अवैध रूपमा प्रयोग भइरहेको सूचनापछि प्रहरीले छापा मारेको थियो।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले यो कार्य गैरकानुनी भएको र यसले स्थानीय दूरसञ्चार सेवा प्रदायकको आयमा असर पु¥याउने बताए। साइबर ब्युरोसँगको सहकार्यमा बुस्टरसहितको सेटअप जफत गरिएको उनले जानकारी दिए।
एनसेलले वीरगञ्ज आसपास क्षेत्रमा नेटवर्कमा समस्या आएको महसुस गरेपछि दूरसञ्चार प्राधिकरणमा उजुरी गरेको थियो। एनसेलका अनुसार, मानिसहरूले घरको छतमा बुस्टर राखेर भारतीय सिम चलाइरहेका थिए, जसले गर्दा सुरक्षा चुनौती र आपराधिक गतिविधि बढ्न सक्ने खतरा थियो।
दूरसञ्चार प्राधिकरणले गत चैत १७ गते नै यस्ता उपकरण प्रयोग नगर्न सूचना जारी गरेको थियो। एनसेलका अधिकारीहरूले फोन नलाग्ने गुनासो बढेपछि अनुसन्धान गर्दा बुस्टर प्रयोग भएको पत्ता लगाएका थिए।
प्रहरीले बुस्टर जफत गर्नुका साथै प्रयोगकर्तालाई चेतावनी दिएको छ। एनसेलका अनुसार वीरगन्ज आसपास अझै धेरै यस्ता बुस्टर प्रयोग भइरहेको आशंका छ।
दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रायका अनुसार यी उपकरण रेडियो उपकरण भएकाले अनुमति बिना चलाउन नपाइने बताए। बुस्टरले नेटवर्कमा नकारात्मक असर पार्ने र सेवा प्रदायकको बीटीएसमा समस्या ल्याउने उनको भनाइ छ।