
११ बैशाख, काठमाडौँ । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका बुटवलका युवा सुदीप न्यौपानेको पार्थिव शरीर बिहीबार बिहान बुटवलस्थित घरमा ल्याइएको छ।
रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार न्यौपानेको शव भारतको सुनौली नाका हुँदै बिहीबार बिहान नेपाल ल्याइएको हो। मृतक सुदीपको पार्थिव शरीर बुधबार साँझ श्रीनगरबाट नयाँ दिल्ली, त्यसपछि राति नयाँ दिल्लीबाट लखनउ हुँदै सुनौली हुँदै बुटवल ल्याइएको हो । लखनउदेखि बुटवलसम्मको यात्रा नेपाली एम्बुलेन्सद्वारा सम्पन्न गरिएको थियो ।
बुटवल उपमहानगरपालिका–१४ स्थायी घर भएका सुदीप न्यौपाने हाल बुटवल–११ मा परिवारसहित बस्दै आएका थिए । उनी आमा, बहिनी र ज्वाइँसहित घुमघामको लागि कश्मीर गएका थिए। सोही क्रममा पर्यटकलाई लक्षित गरी गराइएको आतंककारी आक्रमणमा उनी मारिएका हुन् ।
उनको पार्थिव शरीर बिहीबार नै अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।
यस दर्दनाक घटनाले न्यौपाने परिवारसहित सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ । एक रमाइलो यात्राको उद्देश्यले गएका सुदीप आतंकको शिकार बन्नु दुःखद र निन्दनीय छ । यस दुखद घडीमा सम्पूर्ण नेपाली समुदायले परिवारप्रति समवेदना प्रकट गरेका छन् ।