
११ बैशाख, काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथ ग्रहणलगत्तै उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै शिक्षाक्षेत्रमा देखिएको चुनौती समाधानतर्फ कदम चाल्ने तयारी गरेका छन् ।
पूर्वमन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि रिक्त रहेको शिक्षामन्त्रीको पदमा अनुभवी नेता पन्त नियुक्त भएका हुन् । सामुदायिक विद्यालयका शिक्षकहरू विगत तीन हप्तादेखि आन्दोलनमा रहेका बेला पन्तले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ । एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण रोकिएको छ भने कक्षा १२ को परीक्षा पनि दस दिन पछाडि सरेको छ । यस्तो संकटपूर्ण अवस्थामा पन्तलाई तुरुन्तै समाधानमुखी संवाद आरम्भ गर्ने दबाब छ ।
नवनियुक्त मन्त्री पन्त शिक्षाक्षेत्रमा देखिएको अन्योल हटाउँदै शैक्षिक गतिविधि नियमित बनाउन सक्रिय हुनुहुने अपेक्षा गरिएको छ । आन्दोलनरत शिक्षकहरूसँग संवादमार्फत समाधान निकाल्ने उनको पहिलो प्राथमिकता हुनेछ ।
रघुजी पन्त राजनीतिसँगसँगै पत्रकारिता र प्रशासनिक अनुभवमा पनि दक्ष मानिन्छन् । उनी २०६१ सालमा श्रम तथा यातायात व्यवस्थामन्त्री हुनुका साथै २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारी र २०६६ सालमा प्रधानमन्त्री माधवकुमार नेपालका प्रेस सल्लाहकार पनि रहेका थिए । पत्रकारितामा पनि लामो योगदान दिएका पन्त नेपाल पत्रकार महासङ्घका महासचिव समेत भइसकेका छन् ।