Logo

११ काठमाडौं, वैशाख । औद्योगिक क्षेत्रमा आंशिक लोड सेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले मुलुकको वर्तमान ऊर्जा अवस्था र विद्युत व्यवस्थापनबारे सार्वजनिक जानकारी गराउदै औद्योगिक क्षेत्रमा आंशिक लोड सेडिङ हुनु जनाएको हो। प्राधिकरणले आज (बिहीबार) जारी गरेको सूचना अनुसार सुख्खा मौसमका कारण नदीनालामा पानीको बहाव कम हुँदा आन्तरिक विद्युत उत्पादन घटेको छ। हाल औसत १ हजार १७५ मेगावाट मात्र उत्पादन भइरहेको छ भने उच्च माग २ हजार ७७ मेगावाट पुगेको छ।

माग र उत्पादनबीचको ठूलो अन्तरका कारण प्राधिकरणले भारतबाट विद्युत आयात गरिरहेको छ। तर, गर्मीयाम सुरु भएसँगै भारतमा विद्युतको माग अत्यधिक बढेकाले नेपालले चाहेजति विद्युत किन्न पाएको छैन।

प्राधिकरणका अनुसार Power Exchange Committee (PEC) मार्फत राति ८ बजेदेखि बिहान ६ बजेसम्म १३२ के.भी लाइनमार्फत अधिकतम ३५० मेगावाट विद्युत आपूर्ति गर्ने अनुमति भए पनि विभिन्न प्रसारण लाइनबाट जम्मा ५० मेगावाट मात्र आपूर्ति भइरहेको छ। भारतमा जारी आईपीएल क्रिकेट खेलका कारण विद्युतको माग बढेको र Indian Exchange Market (IEX) को दररेट PEC को भन्दा बढी भएकाले बिहारसँग जोडिएका १३२ के.भी लाइनबाट समेत पर्याप्त विद्युत प्राप्त हुन सकेको छैन।

IEX मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म विद्युत खरिद गरिए पनि प्रो-रेटा आधारमा आपूर्ति हुने भएकाले नेपालले मागको तुलनामा अत्यन्तै कम विद्युत पाइरहेको प्राधिकरणले जनाएको छ।

यिनै कारणले विद्युत व्यवस्थापनमा कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आंशिक लोडसेडिङ गर्नुपरेको प्राधिकरणले स्पष्ट पारेको छ। यद्यपि, माग र आपूर्तिको व्यवस्थापनमा अधिकतम प्रयास भइरहेको र छिट्टै नदीनालामा पानीको बहाव बढ्ने तथा भारतबाट पनि विद्युत आपूर्ति बढ्ने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।

प्राधिकरणले यसबाट औद्योगिक ग्राहकहरूलाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।


सम्बन्धित समाचार