
११ वैशाख,बुटवल । भारतको जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको आज रुपन्देहीको बुटवलस्थित त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ ।
मंगलबार आतंकवादी हमलामा मारिएका सुदीपको शव आज श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गबाट ल्याइएको थियो । त्यहाँबाट एम्बुलेन्समार्फत् नेपाल–भारतको सीमा सुनौली हुँदै बुटवलस्थित निवासमा पु¥याइएपछि अन्त्येष्टिका लागि त्रिवेणी घाट लगिएको थियो ।
पारिवारिक स्रोतका अनुसार, सुदीपलाई उनका काका कपिलदेव न्यौपाने (कृष्ण) ले दागबत्ती दिएका छन् । सुदीपका बुबा ध्रुव र आमाबीच सम्बन्ध विच्छेद भएका कारण बुबाको सट्टा काकाले दागबत्ती दिएको छिमेकी थानेश्वर पौडेलले जानकारी दिए ।
बुटवल–११ कालिकानगर निवासी सुदीप आमा र बहिनीसँग बस्दै आएका थिए । उनका बुबा ध्रुव न्यौपाने शिक्षण पेशामा आवद्ध छन् र शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा रहेका बेला छोराको दुखद खबर सुनेका थिए ।
छिमेकी अमृत भुसालका अनुसार, मिलनसार स्वभावका सुदीपले हेल्थ असिस्टेन्ट पढेपछि पब्लिक हेल्थमा अध्ययन गरिरहेका थिए र सामाजिक कार्यमा पनि सक्रिय थिए । ‘विदेश जान्न, स्वदेशमै केही गर्छु’ भन्ने भावना भएका युवाको असामयिक निधनले बुटवल क्षेत्र शोकमा डुबेको छ ।
आमा, बहिनी र ज्वाइँसँग कश्मिर घुम्न गएका सुदीप मंगलबार दिउँसो आतंकवादी हमलामा परेका थिए । उक्त आक्रमणमा उनकी आमा, बहिनी र ज्वाइँ भने सकुशल रहेका छन् । सुदीपको पुख्र्यौली घर पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ मा रहेको छ ।