Logo

१२ बारा, बैशाख । पत्रकारलाई सामाजिक सञ्जालमा धम्की दिने घटनाको प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति, बाराले गम्भीर ध्यानाकर्षण जनाएको छ।
रातो पाटी अनलाईनमा प्रकाशित समाचारलाई लिएर बाराको सिमरा निवासी पत्रकार शारदा पोखरेलमाथि सामाजिक सञ्जालमार्फत मानमर्दन हुने गरी लाञ्छना, धाकधम्की तथा अपमानजनक अभिव्यक्ति सार्वजनिक गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

प्रेस सेन्टर नेपाल, बाराका अध्यक्ष रञ्जन यादवले बिहीबार एक विज्ञप्ति जारी गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.–१६ का वडा अध्यक्ष हरिदेव खरेल र उनका समर्थकहरूबाट पत्रकार पोखरेलमाथि गरिएको दुर्व्यवहारको कडा शब्दमा निन्दा गरेको छ।

विज्ञप्तिमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूद्वारा पत्रकारलाई समाचार संकलन तथा प्रकाशन गरेकै कारण यस्तो आपत्तिजनक व्यवहार गर्नु लोकतान्त्रिक मूल्य, पत्रकारिता स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हमला भएको उल्लेख छ।

यस्ता गैरजिम्मेवार र धम्कीकालागि उक्साहट दिने क्रियाकलापप्रति प्रेस सेन्टरले कडा आपत्ति जनाएको छ। वडा अध्यक्ष खरेलले सामाजिक सञ्जालमा ‘कसैले समाचार लेखे त्यसको जगल्टा नास हुने, जस्ता धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गर्नु प्रेस स्वतन्त्रतामाथि खुलेआम धावा भएको प्रेस सेन्टरको ठहर छ।

यस घटनाले पत्रकार सुरक्षाको सवाललाई फेरि एकपटक गम्भीररूपमा उठाएको विज्ञप्तिमा उल्लेख छ। प्रेस सेन्टर नेपालले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

पत्रकारले लेखेको समाचार वा अन्य विषयमा चित्त नबुझेको विषयमा कानुनी उपचार गर्न सकिने विकल्प हुँदाहुँदै एक जिम्मेवार पत्रकारमाथि सार्वजनिक पद धारण गरेका वडा अध्यक्ष जस्तो व्यक्तिबाट सामाजिक सञ्जालमा लेखिएको कुरा निन्दनीय र दण्डनीय भएको प्रेस सेन्टरले जनाएको छ।

साथै, प्रेस सेन्टर नेपालले पत्रकार तथा सञ्चारकर्मीले निर्वाध रूपमा पत्रकारिता गर्न पाउने हकको ग्यारेन्टी गर्न सम्बन्धित प्रशासन तथा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।


सम्बन्धित समाचार