
११ वैशाख,काठमाडौं । ट्राफिक प्रहरीले एक सर्वसाधारणलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीको आचरणमाथि गम्भीर प्रश्न खडा भएको छ।
सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको उक्त भिडियोमा चार जना ट्राफिक प्रहरीले एक व्यक्तिलाई लडाएर बुटले प्रहार गरिरहेको देखिन्छ। भिडियोमा ट्राफिक प्रहरीको बर्दीमा रहेका एक व्यक्तिले ती सर्वसाधारणलाई पटक–पटक लडाएर कुटिरहेको स्पष्ट देखिन्छ। सडकमा सर्वसाधारणको कागजात फ्याँकेर हिँडिरहेको दृश्यले ट्राफिक प्रहरीको व्यवहार र नागरिकप्रतिको शिष्टाचारमाथि गम्भीर बहस सिर्जना गरेको छ।
भिडियोको स्थान यकिन नभए पनि ‘कीर्तिपुर यातायात’ लेखिएको बस र सडकमा देखिएको बाक्लो मोटरसाइकलको चापका कारण यो घटना काठमाडौं उपत्यकाकै हुन सक्ने अनुमान गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनाबारे प्रारम्भिक जानकारी संकलन सुरु गरेको जनाएको छ। प्रहरीले भिडियोको सत्यता र घटनाको यकिन स्थान पहिचान गर्ने कार्य जारी रहेको बताएको छ।
यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहे पनि प्रहरीले सार्वजनिक रूपमा कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस घटनालाई ट्राफिक प्रहरीको दमनकारी प्रवृत्तिको उदाहरण भन्दै कडा आलोचना गरिरहेका छन्। धेरै प्रयोगकर्ताले यसलाई सामान्य नागरिकमाथिको अन्याय र प्रहरीको शक्तिको दुरुपयोगको रूपमा व्याख्या गरेका छन्।
यस घटनाले ट्राफिक प्रहरीको तालिम, मनोविज्ञान र व्यवहार सुधारका लागि पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएको छ। घटनाको पूर्ण अनुसन्धान र दोषी प्रहरीमाथि उचित कारबाही नभएसम्म ट्राफिक प्रहरीप्रतिको जनविश्वास र सम्मानमा गम्भीर असर पर्ने देखिन्छ।