Logo

१२ बैशाख, काठमाडौँ । आज वैशाख १२। सन् २०१५ अर्थात् वि.सं. २०७२ को यही दिनले नेपाली जनमानसमा गहिरो पीडा र भय बोकेको छ। गोरखाको बारपाक केन्द्रविन्दु बनाएर आएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पले देशभरको भौतिक संरचना मात्र होइन, लाखौं नेपालीको जीवन, सपना र भविष्यलाई पनि चर्काएको थियो।

तर दशक बितिसक्दा पनि पुनर्निर्माणका काम अझै अपूरा छन् । काठमाडौँका गल्लीदेखि पहाडी गाउँसम्म अधुरै घर, अस्थायी संरचना र पुनर्निर्माणको प्रतीक्षामा रहेका नागरिकहरूको पीडा ज्यूँका त्यूँ छ ।

२०७२ को भूकम्पले झण्डै १० लाख घर, ७ हजारभन्दा बढी विद्यालय, सयौं स्वास्थ्य संस्था, सरकारी भवन र सांस्कृतिक सम्पदामा क्षति पुर्यायो। तर, भूकम्पपछिको पुनर्निर्माण जिम्मेवारी पाएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार हालसम्म ८ लाख ३५ हजार १८५ लाभग्राहीमध्ये अधिकांशले पहिलो, दोस्रो र तेस्रो किस्ताको अनुदान पाए तापनि, सबैको घर निर्माण सकिएको छैन ।

भवन निर्माणका लागि सरकारले दिएको तीन लाख रुपैयाँ अनुदान पर्याप्त नभएपछि धेरैले थप लगानी जुटाउन सकेनन् । यसै कारण पनि निजी आवास पुनर्निर्माणमा  ढिलाइ भएको स्वीकार गर्दै केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख प्रकाश अर्यालले आगामी एक वर्षभित्र ९९ प्रतिशत काम सम्पन्न हुने दाबी गरे ।

पुरातात्विक सम्पदा पुनर्निर्माणमा पनि ढिलाइ कायमै छ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार, १ हजार ५०० क्षतिग्रस्त सम्पदामध्ये ८१५ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ५३१ वटा सम्पदा अझै बाँकी छन् ।

खासगरी परम्परागत सामग्रीको अभाव, बजेट अपुग र स्थानीय विवादका कारण काम सुस्त भएको उनको भनाइ छ । धरहराको पुनर्निर्माणमा पनि अझै १४ प्रतिशत काम बाँकी छ ।

पूर्वतयारीको अभाव: दीर्घकालीन योजना नहुँदाको परिणाम

पूर्वाधारविद् कमलराज पाण्डेका अनुसार, दीर्घकालीन योजना र पूर्वतयारीको अभावले गर्दा पुनर्निर्माण कार्य समयमा सकिएन । “दाताहरूले करिब ४ खर्बभन्दा बढी सहयोगको घोषणा गरे पनि कार्यान्वयनमा ल्याउन नसकिएको” उनको भनाई छ ।

त्यस्तै, महालेखापरीक्षकको ६१औँ प्रतिवेदनमा पुनर्निर्माण प्रक्रिया प्रभावकारी नहुँदा संरचनाको दिगोपनमा प्रश्न उठाइएको छ । कतिपय लाभग्राहीले अनुदानका निजी आवास उपयोग नगरेर घर अन्य प्रयोजनमा प्रयोग गरिरहेका छन् ।

के सिक्यौं? के सिक्न बाँकी छ?

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार, २०७२ को भूकम्पले सुरक्षित संरचना निर्माण, खुला स्थानको आवश्यकता, भूकम्पीय शिक्षा, र स्थानीय सरकारमार्फत भवन संहिता लागू गर्नुपर्ने पाठ सिकाएको हो । तर, अझै पनि जोखिम न्यूनिकरणमा धेरै काम गर्न बाँकी छ ।

आर्किटेक्ट इञ्जिनियर अमितप्रसाद तिमल्सेनाले भवन संहिताको कडाइका साथ कार्यान्वयन, निगरानी र जनचेतना अभिवृद्धि अपरिहार्य भएको बताए ।

पाटन मानसिक अस्पतालका वरिष्ठ विशेषज्ञ डा. वासुदेव कार्कीले भूकम्पले नेपाली समाजमा गहिरो मनोवैज्ञानिक असर पारेको बताउँछन् । उनी भन्छन् “सानोतिनो धक्का पनि मानिस डराउँछन्, अत्तालिन्छन् । प्राकृतिक विपद्मा मानसिक स्वास्थ्यको सशक्त तयारी जरूरी छ,” ।


सम्बन्धित समाचार