
१२ वैशाख,विराटनगर । मोरङको विराटचोकमा आज भएको टिपर दुर्घटनामा एक मोटरसाइकल चालकको दुःखद निधन भएको छ। दुर्घटनापछि स्थानीयवासीले चालकको लापरबाही भएको भन्दै प्रदर्शनमा उत्रिएपछि बजार क्षेत्रमा तनाव उत्पन्न भएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दिएको जानकारी अनुसार, विराटनगर–विराटचोक सडक खण्डअन्तर्गत हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। उक्त दुर्घटनामा सुनसरीको दुहबी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनालगत्तै भेला भएका स्थानीयवासीले सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्। उनीहरुले टिपर चालकको लापरबाहीले निर्दोष व्यक्तिको ज्यान गएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन्। प्रदर्शनकारीले ढुंगामुढासमेत गरेकाले स्थिति तनावपूर्ण बनेको प्रहरीले जनाएको छ।
आक्रोशित स्थानीयले मृतकको शव सडकबाट उठाउन दिएका छैनन् भने दुर्घटना गराउने टिपर पनि घटनास्थलमै रहेको छ। केही प्रदर्शनकारी भाला र लाठ्ठीसहित प्रदर्शनमा उत्रिएका छन् र उनीहरुले टिपरमा आगजनीको प्रयास गरिरहेका छन्। यद्यपि, प्रहरीले टिपरलाई सुरक्षा दिइरहेको छ।
स्थिति नियन्त्रणमा लिन घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ। प्रहरीले प्रदर्शनकारीलाई शान्त बनाउने प्रयास गरिरहेको छ। मृतकका परिवारजन र स्थानीयवासीले उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।