
१२ वैशाख,सेढवा । पर्सा राष्ट्रिय निकुञ्जमा अवस्थित दुधेश्वर महादेव मन्दिरमा भोलि शनिबार लाग्ने वार्षिक मेलाको लागि भक्तजनहरूको आगमन बिहीबारदेखि नै बढ्न थालेको छ। बैशाख कृष्णपक्ष त्रयोदशीको अवसरमा लाग्ने यो मेला भर्न स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।
मानव बस्तीबाट १७ किलोमिटर टाढा निकुञ्जको जंगलभित्र रहेको रामभौरी भाथास्थित दुधेश्वर महादेव मन्दिरमा विगत तीन दिनदेखि नै पसलहरू खुल्न थालेका छन् भने भक्तजनहरू पनि जङ्गल प्रवेश गरिरहेको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ का मुकेश गौरोले बताए। मेलाका लागि आवश्यक सामग्रीसहित व्यापारीहरू ट्याक्टर, जीप, कार र मोटरसाइकलमा आउने क्रम जारी छ।
दुधेश्वर महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेव प्रसाद थारुले यस वर्ष विगतका वर्षहरूको तुलनामा भक्तजनहरूको उपस्थिति उल्लेख्य रहने बताएका छन्। किसानहरूले गहुँबाली समयमै भित्र्याइसकेकाले धेरैलाई फुर्सद भएको र यसले पनि भक्तजनहरूको संख्या बढाउन मद्दत पुग्ने उनको विश्वास छ।
यस वर्ष भक्तजनहरूले ३० भन्दा बढी अष्टजाम आयोजना गर्ने तयारी गरेको अध्यक्ष थारुले जानकारी दिए। जङ्गल प्रवेशका लागि निकुञ्ज प्रशासनले साँझ ६ बजेसम्मको समय निर्धारण गरेको भए पनि भक्तजनहरूको चापलाई मध्यनजर गर्दै समितिले दुईवटा एक्साभेटर परिचालन गरी राति ७ बजेसम्म पनि यात्रीहरूलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था गरेको उनले बताए।
मन्दिरमा हुनसक्ने भीडलाई नियन्त्रण गर्न जनपद प्रहरी र स्वयंसेवकहरू परिचालन गरिने जानकारी अध्यक्ष थारुले दिए।
पर्सा, बारा, मकवानपुर, रौतहट र चितवनलगायत भारतको बिहार तथा उत्तर प्रदेशबाट हजारौं दर्शनार्थीहरू भगवान शिवको दर्शन गर्न यस मन्दिरमा आउने गर्छन्। तर भारतीय सुरक्षाकर्मीहरूले पर्साको ग्रामीण भेगका ठोरी र इनरवा नाकाबाट चारपाङ्ग्रे सवारी साधनको आवागमनमा कडाइ गरेको गुनासो भक्तजनहरूको छ।
यसैबीच, दुधेश्वर महादेव मन्दिर जानका लागि विभिन्न बाटो भए पनि निकुञ्ज प्रशासनले चारभैया नाका मात्र सञ्चालन गरेका कारण सो बाटोमा अत्यधिक भीडभाड भई ट्राफिक जाम हुने गरेको ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पद्मलाल श्रेष्ठले बताए। यसले गर्दा मन्दिर जाने र फर्कने भक्तजनहरूले निकै सास्ती खेप्नुपरेको उनको भनाइ छ।
मध्यवर्ती क्षेत्रका विभिन्न सामुदायिक वनका अध्यक्षहरूले बैठक बसी ठोरीको शिकारीबास, पानीटंकी, गडुवालाइनको बाटो सञ्चालनका लागि निकुञ्ज प्रशासनलाई ज्ञापनपत्र बुझाइसकेको पूर्व अध्यक्ष श्रेष्ठले जानकारी दिए।