
१३ वैशाख,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले कार्यालयमा रहेका प्रयोगमा आउन नसक्ने विभिन्न कम्पनी तथा मोडेलका ११७ वटा मोटरसाइकल लिलाम बिक्री गर्ने भएको छ।
प्रहरीले मोटरसाइकलहरू हाल जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए ।
इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोलपत्र खरिद गरी २०८२ साल वैशाख २७ गते कार्यालय समयभित्र यस कार्यालयमा दर्ता गराउन आह्वान गरिएको छ। लिलाम बिक्री हुने मोटरसाइकलहरूको प्रतिथान न्यूनतम मूल्य रु ४,५०० तोकिएको छ। यस अनुसार ११७ थान मोटरसाइकलको भ्याट बाहेकको कुल मूल्य रु ५ लाख २६ हजार ५ सय तोकिएको थियो ।