Logo

१४ वैशाख,काठमाडौं । ललितपुरको बाँडेगाउँस्थित एक सुधारगृहमा राखिएका ३२ वर्षीय दावा घिसिङको रहस्यमय मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ।

सिन्धुपाल्चोक स्थायी घर भएका घिसिङको शनिबार राति अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको छ।

मृतक घिसिङको परिवारले मृत्यु शंकास्पद भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली सुधारगृह पुगेको थियो। अनुसन्धानको क्रममा घिसिङलाई राति मोटरसाइकलमा नमस्ते अस्पताल लैजाने दुई व्यक्ति र सुधारगृहका एक सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

‘घटनाबारे बुझ्नका लागि तिनीहरूलाई ल्याइएको हो, अहिले सोधपुछ भइरहेको छ,’ एसएसपी अधिकारीले बताए।

उनका अनुसार पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको यथार्थ खुल्नेछ। हालसम्म घटनाको कारण स्पष्ट नभएको भन्दै प्रहरीले थप अनुसन्धान जारी राखेको छ।


सम्बन्धित समाचार