
१४ वैशाख,वीरगञ्ज । वीरगञ्ज–२१ परवानीपुरस्थित मनोज ग्यास उद्योग प्रा.लि.बाट उत्पादित मनोज ग्यासको सिलिन्डरमा तौल घोटला भएको पाइएको छ। वीरगन्ज महानगरपालिका–९ रानीघाटका डिलर विनयलाल साहको पसलबाट स्थानीय होटल व्यवसायी नगीना साहले शनिबार खरिद गरेको सिलिन्डरमा ४ किलो ग्यास कम भेटिएको हो।
वर्षौंदेखि मनोज ग्यास प्रयोग गर्दै आएकी नगीना साहले पछिल्लो समय ग्यास चाँडै सकिन थालेपछि शंका लागेर सिलिन्डरको तौल जाँच गर्दा ४ किलो कम भएको बताइन्। उनले यसबारे डिलर विनयलाल साहलाई जानकारी गराइसकेको बताइन्।
१५ वर्षदेखि डिलरको काम गर्दै आएका विनयलाल साहले सिलिन्डर सिलबन्दी रहेको र आफूले कुनै हेरफेर नगरेको दाबी गरे। उनले गत हप्ता मगाएको ४० थान सिलिन्डरमध्ये एउटामा तौल कम भएको हुन सक्ने बताए। ‘तौल कसरी कम भयो भन्ने विषयमा कम्पनीले नै जवाफ दिनुपर्छ,’ उनले भने।
मनोज ग्यास प्रालिका सञ्चालक मनोज दासले सिलबन्दी सिलिन्डरमै तौल कम हुनु शंकास्पद रहेको बताएका छन्। समाचार आएपछि सत्यतथ्य बुझ्न प्रतिनिधि पठाएको र रिपोर्ट आएपछि थप कदम चाल्ने उनले बताए। ‘सिलिन्डरमा प्लास्टिकको सिल लगाएपछि तलमाथि गर्न सम्भव छैन। तैपनि मैले आफ्नो प्रतिनिधि रानीघाटको डिलरकोमा पठाएको छु,’ दासले भने।
एक उपभोक्ताले सिलबन्दी ग्यास सिलिन्डरमै ४ किलो ग्यास कम पाएपछि वीरगन्ज क्षेत्रमा ग्यासको तौलमा हुने अनियमितताको आशंका बढेको छ।