Logo

१४ वैशाख,काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आज आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपको समाचार सङ्कलन गर्ने क्रममा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकी छन्। नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, समाचार सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै पत्रकार कार्कीको आँखामा लागेको थियो। हाल उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ। यसअघि उनको सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार गरिएको थियो।

महासङ्घले नागरिकलाई सुसूचित गराउने आफ्नो कर्तव्य निर्वाह गरिरहेकी पत्रकारमाथि प्रहरीले गरेको यो कार्य अत्यन्तै निन्दनीय र खेदजनक भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, “उक्त घटनाले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको छ।“

नेपाल पत्रकार महासङ्घले घाइते पत्रकार सविना कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, महासङ्घले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न र घाइते पत्रकारको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।


सम्बन्धित समाचार