Logo

१४ वैशाख,सप्तरी । आज सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामा पूर्व–पश्चिम राजमार्गमा भएको यात्रुवाहक बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय कंचनपुरका अनुसार, उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३४२० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले दिएको जानकारी अनुसार, मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती रहेका छन्। अन्य दुई जना मृतकको पहिचान खुल्न बाँकी छ।

घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो दुःखद घटनाले सिंगो क्षेत्रलाई स्तब्ध बनाएको छ।

दुर्घटनामा परी घाइते भएका २५ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीलाई गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पताल र धर्मेश्वर अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये सुबेता दाहाल, मनोज भट्टराई, मीना भट्टराई, चेतना भट्टराई लगायतका केहीको अवस्था गम्भीर रहेको छ।

बस चालक झापा माईजोगी–७ का ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बसको गति तीव्र रहेको र चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार