Logo

फाईल फोटो

१५ बैशाख, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको १९औँ बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकलाई हालको चिकित्सा क्षेत्रको आन्दोलन र समस्यालाई मध्यनजर गर्दै विशेष महत्वका साथ हेरिएको छ ।

पोस्ट ग्राजुएट (पीजी) तहका विद्यार्थीले निजी मेडिकल कलेजहरूबाट सरकारी सरह निर्वाह भत्ता नपाएको भन्दै आन्दोलन चर्किरहेका बेला बैठक आह्वान गरिएको हो। भत्ता नपाएको असन्तुष्टिमा देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा प्रभावित भएका छन् ।

नेपाल चिकित्सक संघ र विद्यार्थी पक्षले निजी मेडिकल कलेजहरूमा अध्ययनरत पीजी विद्यार्थीलाई पनि सरकारी अस्पतालसरह ४८ हजार ७३७ रुपैयाँ मासिक भत्ता दिनु पर्ने माग गर्दै आएका छन् । १८औँ बैठकमा गरिएको निर्णय तत्काल कार्यान्वयन गर्न उनीहरूले जोड दिएका छन् ।

तर, निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरूले स्रोत सुनिश्चित नभएसम्म सरकारी सरह भत्ता दिन नसकिने अडान लिएका छन् ।

यसअघि ३ वैशाखमा बसेको १८औँ बैठकले एमबीबीएस र बीडीएस कार्यक्रमको सिट संख्या र शुल्क संरचना पुनरावलोकन गर्न शिक्षा सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले आजकै बैठकमा आफ्नो प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।

कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, त्रिभुवन विश्वविद्यालयका डीन डा. मोहन शर्मा, काठमाडौँ विश्वविद्यालयका डीन डा. मनोज हुमागाईँसहित विभिन्न क्षेत्रका वरिष्ठ विज्ञ र मेडिकल कलेजका प्रतिनिधिहरू सहभागी छन् ।

बैठकले आन्दोलनरत विद्यार्थी र चिकित्सा क्षेत्रसँग सम्बन्धित समस्याको समाधानका लागि महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार