Logo

१५ वैशाख,सिम्रौनगढ । गए राति बाराको सिम्रौनगढ इलाकामा आएको भीषण हावाहुरी, पानी र असिनाले ठूलो क्षति पुर्याएको छ। प्राकृतिक प्रकोपमा परी एक जनाको मृत्यु भएको छ भने करोडौं रुपैयाँ बराबरको कृषि बाली र तरकारी खेतीमा व्यापक क्षति पुगेको स्थानीयले बताएका छन्।

मृत्यु हुनेमा बारा सिम्रौनगढ नगरपालिका–१ टोल खजानी निवासी रामबिलास साह कलवारकी श्रीमती ५० वर्षीया मनतुरा देवी रहेकी छन्। स्थानीय लालबाबु कुशवाहाका अनुसार, राति पानी, असिना र हावाहुरी चलिरहेको समयमा ठूलो आवाजसहित चट्याङ पर्दा मनतुरा देवीलाई हृदयघात भएको र घटनास्थलमै उनको मृत्यु भएको हो।

त्यसैगरी, सोही हावाहुरी र असिनापानीले सिम्रौनगढ इलाकामा लगाइएको अन्नबाली र तरकारी खेतीमा नसोचेको क्षति पुर्याएको छ। खजानी, झवानी, नैकाटोला, अमृतगन्ज, जानकी नगर, बैरिया, हरिहरपुर, गङ्गानगर, सतुवाही, अमरपुर, कमलपुर, इटवाल, कनकपुर, देवापुर, टेटा, पर्सा र सिम्रौनगढ बजारलगायतका गाउँहरूमा लगाइएको मकै, काउली, टमाटर, बोडी, करेला, लौका, खिरा, भिन्डी र भन्टा लगायतका सबै बाली नष्ट भएका छन्।

यस क्षेत्रमा सबैभन्दा बढी क्षति खजानीमा भएको छ, जहाँका किसानहरू चिन्तित मुद्रामा देखिएका छन्। हावाहुरीले केही घरका छाप्रा र रुखहरू पनि ढालेको छ। स्थानीय पीडितहरूका अनुसार, आँपको तिकोडा, केरा खेती र फूल खेतीमा समेत ठूलो क्षति पुगेको छ।

 


सम्बन्धित समाचार