
१८ बैशाख, वीरगञ्ज । नेपाल भारत सीमाको दुवैतर्फ परिचयपत्र अनियार्व गर्ने विषयको समाचारको कुनै आधिकारिक पुष्टि नहुँदा दुवैदेशका नागरिकलाई भने अन्योलमा बस्नु प-यो ।
बिहीबार बिहानैदेखि नेपाल भारतको सीमाक्षेत्रका दुवैतर्फ आवतजावत गर्दा परिचयपत्र अनिवार्य देखाउनुपर्ने नियम लागू भएको भन्ने समाचार केही सञ्चार माध्यमहरुमा र सामाजिक सञ्जालहरुमा छरपस्ट भएका छन् ।
तर, रक्सोल पुगेर आएका नेपाली र नेपाल प्रवेश गर्नेहरुलाई भने सीमाक्षेत्रमा दैनिक गरिने सुरक्षा चेकजाँच बाहेकका कुनै पनि कागजातहरु नमागिएको भारतको रक्सौल पुगेर आएकाहरुले बताएका छन् ।
नेपालतर्फ पनि सीमाक्षेत्रमा चेकजाँचमा खटिएका सुरक्षाकर्मीहरुले दैनिक गर्ने चेकजाँच बाहेक कुनै किसिमको परिचय पत्र मागेका छैनन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र नेपालको सीमा सुरक्षा बल सशस्त्र प्रहरीको संयुक्त बैठकमा सीमाक्षेत्रमा गरिने निगरानी थप प्रभावकारी बनाउने बाहेकका अन्य कुनै औपचारिक सहमति र निर्णयहरु भने भएका छैनन् ।
भारतको काश्मिरको पर्यटकीय स्थल पहलगाममा भएको आतंकारी हमलापछि नेपाल भारतको सीमाक्षेत्रमा दुवैतर्फका सुरक्षा निकायले नियमित चेकजाँचलाई थप प्रभावकारी बनाउन निगरानी बढाउनु बाहेक अन्य परिचय पत्र भन मागिएको छैन । सीमा नाकामा नेपालतर्फ प्रहरीले ‘स्पेशल डग’ सहित सुरक्षा जाँच पहिलेदेखि नै गरिरहेको छ ।
सीमाक्षेत्रमा नियमित सुरक्षा जाँच भईरहेको र भारतीय सुरक्षा अधिकारीहरुसँगको नियमित छलफलमा कुराकानी भए अनुसार नेपालतर्फ पनि सशस्त्र प्रहरीले थप सुरक्षा व्यावस्थालाई कडाई गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताए ।
सीमाक्षेत्रमा परिचय पत्र देखाउनु पर्ने नियमको विषयमा कहीपनि औपचारिक बैठकहरु नभएको र यस विषयमा कुनै आधिकारिक जानकारी पनि नआएको वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतावास स्रोतले पनि जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि आज बिहानैदेखि समाचार र सामाजिक सञ्जालहरुमा आएको जस्तो सत्यता नरहेको बताए । उनले हल्लै हल्लाले सामाजिक सञ्जाल र समाचारहरु आएको भन्दै त्यो कुनै आधिकारिक रुपमा नआएको बताए ।