Logo

१९ बैशाख, वीरगञ्ज । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साह मृत अवस्थामा फेला परेकी छन् । सर्लाहीको मलंगवाकी स्थायी बासिन्दा तथा हाल वीरगञ्ज–१५ निवासी श्याम साहकी छोरी प्रिसा बिहीबार साँझ कलेज होस्टेलमा मृत फेला परेकी हुन् ।

प्रिसाको परिवारका अनुसार विश्वविद्यालय प्रशासनले राति ९ बजे फोनमार्फत घटनाबारे जानकारी गराएको थियो । मृतककी भाइ गौरव साहका अनुसार प्रिसाले मृत्यु हुनु केही घण्टा अघिमात्र दिउँसो ३ बजे घरमा फोन गरेर यही वैशाख १८ गते नेपाल फर्कनका लागि टिकट काटिदिन अनुरोध गरेकी थिइन्। प्रिसा करिब एक वर्षअघि मात्रै अध्ययनका लागि भारत गएकी थिइन् र हाल प्रथम वर्षको परीक्षा दिन विश्वविद्यालयको होस्टेलमै बस्दै आएकी थिइन् ।

शवको कारण खुलेको छैन । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ। विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार, आत्महत्याको कारणबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।

उक्त घटनाले प्रिसाको परिवारसहित नेपाली विद्यार्थी समुदायलाई गहिरो धक्का दिएको छ ।  यसअघि पनि सोही विश्वविद्यालयको होस्टेलमा गत फागुन ४ गते नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । दुबै विद्यार्थी एउटै होस्टेलमा बस्दै आएका थिए ।

प्रिसाको परिवार किट विश्वविद्यालय पुगेका छन् । घटनाको थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अगाडि बढाउन नेपाली दूतावास र सम्बन्धित निकायसँग परिवारको आग्रह छ ।


सम्बन्धित समाचार