
१९ कञ्चनपुर, वैशाख । सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसर पारेर कम्प्युटर एशोसिएसन नेपाल (CAN) महासंघ, कञ्चनपुर शाखाले आज साँझ ७ बजे “AI at Your Fingertips: Smart Prompting for Smarter Results” शीर्षकमा विशेष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) वेबिनार आयोजना गर्दैछ।
CAN महासंघ सुदूरपश्चिम र टेक ब्लगर्स एशोसिएसन अफ नेपाल (TBAN) को सहकार्यमा सञ्चालन हुने यो वेबिनारलाई skillspark ले पावर्ड र SAIM College ले को-पावर्डको रूपमा समर्थन गरेका छन्। कार्यक्रममा एआई विशेषज्ञ शिरीष महार्जनले मुख्य वक्ताको रूपमा स्मार्ट प्रम्प्टिङ प्रविधिबारे विस्तृत जानकारी दिनेछन्। उनले विशेषगरी ChatGPT जस्ता एआई टूलहरूमा स्मार्ट प्रम्प्टिङ प्रयोग गरेर कसरी उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्नेछन्।
वेबिनारमा महार्जनले प्रम्प्टिङका आधारभूत सैद्धान्तिक पक्ष, व्यवसाय, शिक्षा र सामग्री निर्माणमा यसको प्रभावकारी प्रयोग, सामान्य गल्तीहरू र सुधारका उपायहरूबारे छलफल गर्ने कार्यक्रम छ। यसका साथै, प्रत्यक्ष डेमोको माध्यमबाट एआईमा स्मार्ट प्रम्प्टिङको व्यावहारिक प्रयोग पनि देखाइनेछ।
CAN कञ्चनपुर शाखाका अध्यक्ष धिरज बोहराको अध्यक्षतामा हुने कार्यक्रमको पहल CAN महासंघका उपाध्यक्ष तथा युवा उद्यमी भास्कर पन्तले गरेका हुन्।
आयोजकका अनुसार, यो वेबिनार विद्यार्थी, अनुसन्धानकर्ता, पेशागत व्यक्ति, उद्यमी, सामग्री निर्माता, विकासकर्ता र शिक्षक लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूका लागि निकै उपयोगी हुनेछ। सहभागीहरूले एआई उपकरणहरूको प्रभावकारी प्रयोग गरी कार्य स्वचालन र सामग्री सिर्जना प्रक्रियालाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा आवश्यक सीप सिक्न सक्नेछन्।
यो निःशुल्क वेबिनारमा जो कोही पनि सहभागी हुन सक्नेछन्। तर, आयोजकले समयमै दर्ता गरेमा सहभागी हुन सहज हुने बताएका छन्।