Logo

१९ बैशाख, वीरगञ्ज। नेतृत्व विकास र व्यवस्थापन तालिममा समर्पित लिडरशिप डेभलपमेन्ट इन्स्टिच्युट अफ नेपालु (एलडीआई) नेपाल शुक्रबार औपचारिक रूपमा वीरगञ्जमा सञ्चालनमा आएको छ। संस्थाको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले गरेका थिए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा स्थापना गरिएको संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अनिल जयसवालले युवा, व्यावसायी र उद्यमीहरूलाई लक्षित गर्दै नेतृत्व, व्यवस्थापन तथा व्यावसायिक सीप अभिवृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य रहेको बताए ।

एलडीआई नेपालले विभिन्न तालिम, कार्यशाला तथा परामर्श कार्यक्रमहरू सञ्चालन गर्ने र यसले व्यक्तिको व्यवहारिक क्षमता, रणनीतिक सोच र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष टेमानीले संस्थाले युवाहरूमा नेतृत्व र व्यवस्थापन क्षमताको विकास गरी समाजलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागीहरूले यस संस्थानको स्थापनालाई वीरगञ्जमा नेतृत्व विकासको नयाँ युगको थालनी भएको प्रतिकृया दिए ।

उदघाटन समारोहमा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष ओमप्रकाश खनाल, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रा लगायतका उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार