Logo

२० बैशाख, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले खुद्रा व्यवसायीहरुको समस्या समाधानका लागि आपसी छलफल गरेको छ । शनिबार संघको सभाहलमा आयोजना गरिएको छलफलमा खुद्रा व्यावसायीलाई राज्यको कानून भन्दा बाहिर गएर काम नगर्न सुझाव दिदै कानून अनुसारको व्यापार व्यवसायमा संघ सधैं खुद्रा व्यावसायीहरुको साथमा रहने जनाएको छ ।

खुद्रा व्यापारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हरि गौतमले खुद्रा व्यापारीहरुले भोग्दै आएका विभिन्न समस्याहरु समाधान गर्न संघ तयार रहेको बताए। उनले भने, “तपाईहरुको समस्या हामीलाई जानकारी गराउनुहोस्, हामी त्यसको निराकरण गर्न तयार छौँ। तपाईहरुकै कारणले म अध्यक्ष बनेको हुँ र तपाईहरुसँग सहकार्य गर्दा संघको गरिमा बढ्नेमा म विश्वस्त छु।”

व्यावसायीहरुको गुनासो सुन्नका लागि वीरगन्ज उद्योग वाणिज्य संघले हटलाई सेवाको व्यावस्था शुरु गर्ने भएको छ । खुद्रा व्यावसायीहरुको समस्यालाई मध्यनजर गर्दै एक हप्ताभित्र निःशुल्क टेलिफोन सेवा सुरु गर्ने संघका अध्यक्ष गौतमले बताए ।

कार्यक्रममा सहभागी खुद्रा व्यापारीहरुले भारतबाट सामान ल्याउँदा भन्सार, प्रहरी प्रशासन लगायतबाट भोग्नुपरेका समस्याहरु सुनाएका थिए। व्यापारी रामप्रित तिवारीले राज्यलाई लाखौं कर तिरे पनि सुरक्षा र सम्मान नपाएको गुनासो गरे।

अर्का व्यापारी कुन्दन रौनियारले वीरगंज–रक्सौलको खुला सिमानाका कारण उत्पन्न समस्या समाधानमा उद्योग वाणिज्य संघ र महानगरपालिकाले ध्यान नदिएको बताए।
कार्यक्रमका प्रमुख अतिथि पूर्वअध्यक्ष गोपाल केडियाले वाणिज्यको अनुगमनमा संघले नियमित प्रतिनिधि पठाउने र प्रत्येक महिना खुद्रा व्यापारीहरुसँग बैठक राखेर समस्या बुझ्ने सुझाव दिए।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, बरिष्ठ उपाध्यक्ष माधव राजपाल, महासचिव शिवजी कलवार, सहकोषाध्यक्ष निरज अग्रवाल, सचिव प्रेमचन्द्र गोयल लगायत पदाधिकारी र वीरगञ्जका खुद्रा व्यापारीहरुको उपस्थिति थियो।


सम्बन्धित समाचार