Logo

२१ बैशाख, काठमाडौँ । नेपाल प्रहरीमा पहिलो पटक लागू गरिएको स्टाफ कलेज कोर्सले संगठनमा असल, दक्ष र पेशागत नेतृत्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गृहमन्त्री रमेश लेखकले व्यक्त गरेका छन्।

आईतबार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यो कोर्स नेपाल प्रहरीको इतिहासमा एक महत्वपूर्ण मोड भएको बताए।

उनले भने, “आज नेपाल प्रहरीका लागि ऐतिहासिक दिन हो। राष्ट्रको सेवामा समर्पित प्रहरीको कार्यमा यो कोर्सले थप गुणात्मक सुधार ल्याउने विश्वास लिएको छु।”

गृहमन्त्री लेखकका अनुसार स्टाफ कलेज कोर्सले प्रहरी संगठनभित्र पेशागत दक्षता, प्रतिबद्धता, इमानदारी, र जिम्मेवारीपनका साथ काम गर्ने नेतृत्व उत्पादन गर्नेछ। उनले थपे, “यो कोर्सको प्रभाव तुरुन्त देखिने होइन, पाँचदेखि दश वर्षभित्र परिवर्तन महसुस हुनेछ।”

नेपाल प्रहरीले २०७० सालमा निरीक्षक पदमा भर्ना भएका अधिकृतहरूको ब्याचबाट यो कोर्स सुरु गरेको हो। प्रारम्भिक चरणमा परीक्षामार्फत १७ जना अधिकृतहरू स्टाफ कलेज कोर्सका लागि छनोट भएका छन्।

नेपाल प्रहरी स्टाफ कलेजको पाठ्यक्रममा प्रशासनिक कार्य सञ्चालन, सार्वजनिक सेवा प्रशासन, अपराध अनुसन्धान, सुरक्षा अध्ययन, रूपान्तरणकारी नेतृत्व विकास, फरेन्सिक विज्ञान, विपद् व्यवस्थापन, द्वन्द्व समाधानलगायतका विविध विषयहरू समेटिएका छन्।

गृहमन्त्री लेखकले स्टाफ कलेज कोर्स लागू गर्न विगतमा योगदान दिने गृह मन्त्री, प्रहरी प्रमुख र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिँदै यो कार्यक्रम प्रहरी सेवालाई आधुनिकीकरण र दीर्घकालीन सुधारको दिशातर्फ लैजाने रणनीतिक पाइला भएको उल्लेख गरे।


सम्बन्धित समाचार