Logo

२१ बैशाख, काठमाडौँ । आइतबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा पहिलो दिनै प्रश्नपत्र बाहिरिएको हल्ला भ्रामक भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि राष्ट्रिय परीक्षा बोर्डले विज्ञप्ति नै जारी गरेर त्यसको खण्डन गरेको छ ।

आईतबार सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचना भ्रामक र गलत भएको जनाएको हो ।

सामाजिक सञ्जालमा सम्प्रेषण भएका यस प्रकारका गलत सूचनामा विश्वास नगर्न र आगामी दिनमा पनि यस्ता भ्रामक सूचनाको विश्वास नगरी आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिन पनि बोर्डले अनुरोध गरेको छ ।

साथै विषयवस्तुको आधिकारिता पुष्टि नगरी यस्ता विषयहरू सामाजिक सञ्जालमा नराख्नसमेत भनिएको छ । आइतबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिकास्थित केही परीक्षाकेन्द्रमा प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि बोर्डले यसबारे प्रेस विज्ञप्ति निकालेर खण्डन गरेको हो ।


सम्बन्धित समाचार