Logo

२२ वैशाख, काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआइआइटी) मा नेपाली विद्यार्थीहरूलाई पठाउन बन्द गर्नुपर्ने माग गरेका छन्। उनीहरूले त्यहाँ अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरूलाई सरकारले ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिएका छन्।

आज राष्ट्रियसभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले केआइआइटीमा विद्यार्थीहरू असुरक्षित रहेको र एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युका घटनाले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको बताएका छन्। उनीहरूले सरकारलाई तत्काल एनओसी रोक्न आग्रह गरेका छन्।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया तत्काल रोक्नुपर्ने बताए। उनले त्यहाँ नेपाली विद्यार्थीहरूको सुरक्षामा गम्भीर प्रश्न उठेको भन्दै सरकारले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने धारणा राखे।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदनकुमारी साहले पनि केआइआइटीका लागि एनओसी रोक्न माग गरिन्। उनले अभिभावकहरूलाई पनि उक्त कलेजको अवस्थाबारे सचेत रहन आग्रह गरेकी छन्।

आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआइआइटीमा नेपाली विद्यार्थीको मृत्युबारे गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरे। उनीहरूले मृतक विद्यार्थीहरूले न्याय पाउनुपर्नेमा जोड दिए।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गङ्गाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुमित्रा विसीले पनि घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूले सरकारले भारतीय समकक्षीसँग समन्वय गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।

राष्ट्रियसभा सदस्यहरूले केआइआइटीमा नेपाली विद्यार्थीहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन्।


सम्बन्धित समाचार