Logo

१ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियान कुन ठाउँबाट सुरु गर्ने भन्ने विषयमा ठोस निर्णय नभइसकेको तथा विस्तृत कार्यक्रमलाई मूर्तरूप दिन अर्को बैठकले गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार भर्खर सम्पन्न भएको पहिलो चरणको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको छ ।

अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको ठहर छ । अभियानमा सहभागिता जनाएका जनसमुदायप्रति बैठकले धन्यवाद ज्ञापन गरेको सापकोटाले बताए ।

बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको थियो ।

‘बैठकले मध्य पहाडी केन्द्रित अभियान जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । अभियानको सम्पूर्ण कार्यक्रम बन्न बाँकी नै छ । आजको बैठकले हुलाकी मार्ग केन्द्रित जागरण अभियानबारे समीक्षा । सोचेभन्दा बढी अभियान सफल भएको हामीले निष्कर्ष निकालेको छ’, उनले भने

पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरेको थियो । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार