
२२ वैशाख, काठमाडौं । ललितपुरको सातदोबाटोबाट हात्तीवनतर्फ जाने ओरालो सडकमा गए राति कार दुर्घटना हुँदा बिजुलीको पोल भाँचिएर सडकको बीचमा पुगेको छ। यस कारण उक्त सडक खण्डमा यातायात आवागमन अवरुद्ध भएको छ।
दुर्घटनामा बा १५ च ७६५२ नम्बरको कारमा सवार तीन जना घाइते भएका छन्। ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार घाइते हुनेहरूमा म्याग्दीका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र २९ वर्षीय मोसेफ लामिछाने रहेका छन्। उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये विशालको अवस्था गम्भीर छ र उनी आईसीयूमा उपचाररत छन्।
ललितपुर प्रहरीले दिएको जानकारी अनुसार, राति ११ बजेर १० मिनेटमा ललितपुर महानगरपालिका-२८ हात्तीवनमा उक्त दुर्घटना भएको हो। तीव्र गतिमा रहेको कार अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको प्रारम्भिक अनुमान छ। दुर्घटनामा कारको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त भएको छ।
सडकको बीच भागमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको पोल ढलेका कारण यातायात सञ्चालनमा बाधा पुगेको छ। ललितपुर महानगरपालिकाको नगर प्रहरी र नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीले भाँचिएको पोल हटाउने प्रयास गरिरहेका छन्।