Logo

२२ वैशाख, काठमाडौं । झापामा लागूऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान पौने ९ बजेतिर कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले सवारी साधन जाँच गरिरहेको थियो।

सोही क्रममा बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलमा सवार एक व्यक्तिलाई रोकेर जाँच गर्न खोज्दा उनले बोकेको झोला छाडेर भागेका थिए। ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाए पनि उनी फरार हुन सफल भएका छन्।

डीएसपी खड्काले दुई राउण्ड हवाई फायर गरिएको जानकारी दिएका छन्। ती व्यक्तिले मोटरसाइकल र झोला घटनास्थलमै छाडेका थिए। प्रहरीले उक्त झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार